राजकुमार भुजेल, दोलखा।
विगत करिब १० वर्षदेखि स्वयंसेविकाका रुपमा सामाजिक कार्य गर्दै आएकी गौरीशंकर गाउँपालिकाकी निमलेकी शेर्पा (डोल्मा)को उपाध्यक्ष पदको उम्मेदवारी निश्चित भएको छ। गौरीशंकर गाउँपालिका–७ सिक्पाश्वरकी स्थायी बासिन्दा निमलेकीलाई नेकपा माओवादी केन्द्रले उपाध्यक्ष पदमा उम्मेदवार बनाएको हो।
गौरीशंकर गाउँपालिकाका उपप्रमुख श्यामसुन्दर तामाङको हृदयघातका कारण निधन भएपछि उक्त पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। निमलेकीले गाउँमै रहेर अनवरत रुपमा गाउँको सेवा गर्दै आएकी छन् । लामो समय गाउँमै आमा समूह बनाएर त्यसको नेतृत्व गरेकी उनले बचत गर्न सिकाउने, सुरक्षा भत्ता वितरण गर्ने, विद्युत पुर्याउन सहयोग गर्ने लगायतका सामाजिक कार्य गर्दै आएकी थिइन् । त्यसैले पनि निमलेकीमाथि सिँगो गाउँबासीको आशा र विश्वास छ । लामो समय निस्वार्थ भावनाले समाजसेवामा खटिएकी उनलाई यसपालीको उपनिर्वाचनमा निकै महत्वका साथ हेरिएको छ ।
निर्वाचन नजिकिँदै गर्दा निमलेकीले विगतदेखि नै देखाएको निष्ठा र सेवाका कारण उनको जित सुनिश्चित जस्तै छ। नेकपा माओवादी केन्द्रले उनको उम्मेदवारीलाई नयाँ र सक्षम नेतृत्वको रुपमा हेरेको छ। निमलेकीको उम्मेदवारीसँगै गाउँपालिकामा युवा र अन्य पार्टी परित्याग गर्ने नेताहरूको माओवादी केन्द्रतर्फ आकर्षण समेत बढेको छ।