अबिरल बस्नेत ` सुरज ´
दोलखा । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना स्थलबाट सामान चोरी भएको घटनाले प्रहरी प्रशासनप्रति मिलेमतोको शंका उत्पन्न भएको छ । घटनाको लामो समयसम्म पनि सामान्य चोरलाई पक्रन नसक्दा प्रहरीप्रति स्थानीयको भरोसा नै गुम्ने चिन्ता बढेको छ ।
चोरीको घटनामा संलग्न भएको आरोपमा सिंगटीका कवाडी व्यवसायी ४८ वर्षीय विभिचन महतो १० दिनदेखि प्रहरी हिरासतमा छन् । आयोजनाबाट सामान चोरी भएको भन्दै उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय दोलखाले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा व्यवसायी महतोको कवाडी कारखानामा उक्त सामान भेटिएको थियो । लामो समयदेखि कवाडी ब्यबसाय चलाउँदै आएका उनले आफुले सामान चोरी गरेको नभई कुनै एक ब्यक्तिबाट किनेको प्रहरीसामु बताएका छन् । तर प्रहरीले त्यो ब्यक्ति को हो भन्नेबारेमा मुख खोलेको छैन । बरु, मुद्धा लम्ब्याउनकै लागि ती व्यवसायीलाई पटकपटक अदालतबाट म्याद थप्दै अनुसन्धान गरिरहेको छ ।
चोरीमा संलग्न गिरोहको पहिचान र पक्राउमा ढिलाइ हुँदा स्थानीय प्रहरी र प्रशासनको भूमिकामा प्रश्न उठेको छ। धेरैले यस विषयमा गम्भीर अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गरेका छन्।
महतोले सो सामान किनेको मात्रै हो भन्नेमा स्थानीय समेत निश्चिन्त छन्, तर प्रहरीले महतोलाई दुख दिइरहेको छ । खासमा गाउँमा राम्रो राजनीतिक छवि भएका प्रभावशाली ब्यक्तिबाटै यी सामान चोरी गरी बेचिएको हुनसक्ने आशंका समेत गरिएको छ । हाल हिरासतमा रहेका महतोले उक्त सामान खरिद गरेबापतको रकम तिरेको बताइरहँदा प्रहरीले ती सामान बेच्नेलाई छुनसम्म नसक्नुले प्रहरीको निरिहता प्रकट भएको छ । अर्कोतर्फ गौरीशंकर गाउँपालिकामा उपनिर्वाचनको माहोल बनिरहँदा ती ब्यक्ति राजनीतिक प्रभाव भएका गौरीशंकरकै प्रभावशाली ब्यक्ति भएकाले प्रहरीमा दबाब सिर्जना भएको हुनसक्ने देखिएको छ ।
यस्तो थियो घटना
गत असोज ११ र १२ गतेको भीषण वर्षा र त्यसपछिको बाढीले माथिल्लो तामाकोशी जलबिद्युत केन्द्रको हेडवक्स र कन्ट्रोल बिल्डिङ लगायतका संरचनामा क्षति पुर्याएको थियो। उक्त क्षति हुँदा निस्किएका इलेक्ट्रिक उपकरणसहितका कवाडी सामानहरू तिहारको समयमा हराएका थिए।
प्रहरीको खोजतलासपछि हराएका यी सामान सिंगटीमा महतोको स्टोरमा फेला परेको थियो । जहाँबाट प्रहरीले करिब २ हजार किलो चोरीको कवाडी बरामद गरेको थियो । यो चोरीमा महँगो मूल्यका उपकरणहरू जस्तै ५६० केभीए ट्रान्सफर्मर, जेनेरेटर, मोटा केवुल तारहरू, इलेक्ट्रिकल प्यानल बोर्ड, र हाईभोल्टेज केवुल समावेश छन्।
घटनास्थलमा नेपाली सेना र प्रहरीको घेरा हुँदाहुँदै, ती सामान रातारात चोरी भएको आशंका गरिएको छ। स्थानीय बासिन्दाहरूले सुरक्षा व्यवस्थाका बाबजुद चोरी हुनु ‘सेटिङ’ विना सम्भव नभएको बताएका छन्।