दोलखा ।
आउँदो उपनिर्वाचनमा गौरीशंकर गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष पदमा उम्मेद्वार बनेकी निमलेकी शेर्पा (डोल्मा) ले जनताको सेवामा समर्पित हुने अठोट व्यक्त गरेकी छन् । चुनावी अभियान कार्यक्रममा सहभागिता जनाउँदै उनले गाउँपालिकाका सम्पूर्ण जनताको दुःखलाई आफ्नो जिम्मेवारीको रूपमा लिएको बताइन्।
जनताको साथ पाउँदा आत्मविश्वासी देखिएकी शेर्पाले आफ्नो अभियानमा साथ र समर्थन दिने सबैलाई धन्यवाद दिँदै आफूलाई मिलेको भरोसा कहिल्यै टुट्न नदिने प्रतिबद्धता जनाइन्। ‘गौरीशंकरबासीका प्रत्येक नागरिकको दुःख र खुशी मेरो आफ्नै हो । गाउँपालिकाका लागि म सदैव खटिरहनेछु।’ उनले भनिन्, ‘यतिका समयसम्म स्थानीयसँगै सहयात्रामा हिड्दा मैले उहाँहरुको समस्या र आवश्यकता के हो भनेर बुझेको छु । त्यसैले तपाइँहरुका ती तमाम समस्यालाई सम्बोधन गर्नेछु ।’
पार्टीका अन्य नेताहरूले पनि कार्यक्रममा शेर्पाको सफल उम्मेदवारीका लागि शुभकामना दिँदै, उनले गाउँपालिकाका जनताका समस्याहरूलाई हल गर्न योग्य नेताका रूपमा भूमिका निभाउने आशा व्यक्त गरे।
चुनावी अभियानका क्रममा शेर्पालाई गाउँपालिका क्षेत्रमा व्यापक समर्थन मिलेको देखिएको छ। जनताको भावनालाई सम्बोधन गर्दै गौरीशंकरको विकास र जनसेवामा समर्पित हुने शेर्पाको प्रतिबद्धताले यो निर्वाचनमा उनको पक्षमा लहर ल्याएको देखिएको छ।