अबिरल बस्नेत `सुरज´
दोलखा । दोलखामा एमाले र कांग्रेसका ४० नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार विगु गाउँपालिकामा आयोजित दोस्रो सम्मेलनको अवसरमा नेकपा एमाले र नेपाली कांग्रेसका ४० जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
विगु गाउँपालिका–४, लादुकस्थित च्याने डाँडामा आयोजित कार्यक्रममा नेकपा एमालेका जिल्ला कार्यसमिति सदस्य तथा विगु पालिका कमिटी अध्यक्ष टेकमान तामाङ, पूर्व गाविस अध्यक्ष भक्तबहादुर केसी, जिल्ला कार्यसमिति सदस्य हिरन्ने गुरुङ, नेपाली कांग्रेसका वडा सभापति रामेश्वर केसी र नेता रामबहादुर तामाङसहित ४० जना नेताहरू माओवादी केन्द्रमा सामेल भएका हुन्।
सम्मेलनले रमेश ठकुरीको अध्यक्षतामा ४५ सदस्यीय पालिका समिति गठन गरेको छ। साथै, १९ सदस्यीय बुद्धिजीवी संगठनको समिति पनि निर्माण गरिएको छ। सम्मेलनको उद्घाटन पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका दोलखा जिल्ला इन्चार्ज विशाल खड्काले सहिदहरूको तस्वीरमा माल्यार्पण गर्दै गरेका थिए।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पूर्व संयोजक कुलबहादुर बुढाथोकी, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष सोम बहादुर तामाङ , विगु गाउँपालिका अध्यक्ष सञ्जीव ओली, नेकपा माओवादी केन्द्र विगु गाउँपालिका इन्चार्ज बुक्तम तामाङ ,कालिन्चोक गाउँपालिका अध्यक्ष नवराज अर्याल, पार्टीका प्रवक्ता पुष्कर अधिकारी लगायत नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा थामी जातिको मारुनी नृत्य र क्रान्तिकारी गीत प्रस्तुत गरिएको थियो। स्थानीय युवाहरूको माओवादी केन्द्रप्रति बढ्दो आकर्षणले आगामी दिनमा पार्टीको संगठन थप बलियो हुने अनुमान गरिएको छ।