अबिरल बस्नेत `सुरज´
दोलखा । विगु गाउँपालिका–३ बुलुङको कटुवाल गाउँस्थित जङ्गलको बीचमा रहेको दुर्गा देवी थापाको एक्लो घरमा सोमबार उज्यालो छायो। ८३ वर्षिया दुर्गा देवीको अनुहारमा मुस्कान र आँखा भरिएर आएको चमकले ठूलो दुखबाट पार पाएको जस्तो लाग्थ्यो। जीवनभर अन्धकारमा बितेका उनका दिनहरू सोमबारबाट उज्यालोमा बदलिएका छन् ।
सानो गाउँ, जहाँ जम्मा ५–७ वटा मात्रै घर छन् । गाउँकै अलि पर एउटा घरमा उनी एक्लै बस्दै आएकी थिइन्। उनका दुई छोरा र एक छोरी भए पनि उनीहरू धेरै वर्षदेखि हराएका छन् । न त उनीहरू घर फर्किन्छन्, न आमाको खोजी गर्छन् । यस्तो अवस्थामा दुर्गा देवीले आर्थिक अभावका कारण वर्षौंदेखि टुकी बत्तीको सहारामा रात बिताउँदै आएकी थिइन् । टुकीको धुवाँले भरिएको सानो घरमा उनी एक्लै आफ्नो उमेरको भार बोक्दै थिइन् ।
तर सोमबारको दिन उनका लागि विशेष बन्यो । विगु गाउँपालिका अध्यक्ष सन्जीव ओलिले दुर्गा देवीको अवस्था थाहा पाएपछि उनका लागि उज्यालोको पहल गरे । अध्यक्ष ओलिले विद्युत प्राधिकरणसँग समन्वय गरी दुर्गा देवीको घरमा बिजुली जडान गराए । आर्थिक अबस्था कमजोर भएकै कारण विजुली बत्तीजोड्न नसकेकी उनलाई अध्यक्ष ओलिले निशुल्क रुपमा बत्ति जडान गरिदिएका हुन् ।
जब सोमबार दुर्गा देवीको घरमा पहिलो पटक बिजुली बल्यो, उनी आफ्नो भावनालाई सम्हाल्न सकिनन् । ‘अब अन्धकारमा बस्नुपर्दैन, टुकी बत्ती बालेर बिहान कुर्नुपर्दैन,’ उनले हर्ष मिश्रित आँसु झार्दै भनिन् । ‘यो उमेरमा यस्तो उज्यालो देख्न पाउँछु भनेर कहिल्यै सोचेकै थिइनँ । मेरो जीवन फेरिएको जस्तो महशुस भएको छ।’
दुर्गा देवीको घरमा बिजुली मात्र बल्ने होइन, उनले पुनः आफ्नो जीवनप्रति विश्वास गर्ने आधार पाएकी छन्। टोलका अन्य मानिसहरूका लागि पनि यस विषय निकै प्रेरणादायी बनेको छ । उनीहरू भन्छन्, ‘अध्यक्षज्यूको यो पहलले एक जना वृद्धाको मात्र होइन, हाम्रो टोलकै मनमा उज्यालो भरेको छ ।’
दुर्गा देवीको जीवनमा आएको यो परिवर्तन केवल एक बत्तीको उज्यालो होइन, यो सम्मान, माया र सहानुभूतिले भरिएको एउटा उपहार हो । जङ्गलको बीचमा रहेको सानो घरमा अब उनले उज्यालोमा आफ्ना दिन बिताउन पाउनेछिन्। उनका लागि यो बत्ती केवल उज्यालोको स्रोत मात्र होइन, एक्लोपनबाट छुटकारा पाउने माध्यम पनि हो ।
दुर्गा देबीको घरमा बत्ति जोडिएपछि गाउँपालिका अध्यक्ष सन्जीव ओलिको यो प्रयास केवल एउटा व्यक्तिको जीवनमा उज्यालो भर्ने काम मात्रै नभएर, यो हामी सबैलाई सहानुभूति र सेवाभावको उदाहरण बन्न सक्छ। उनी भन्छन्, ‘हामी जनप्रतिनिधि भएको नै आफ्नो गाउँ ठाउँको सेवा गर्न नै हो । यस्ता ठाउँहरू अझै कतै भए हामीलाई खबर गर्नुस् ।’
आज, दुर्गा देवी आफ्नो घरमा बलेको उज्यालोलाई हेर्दै हर्षित मुहारमा भन्छिन्, ‘अब मेरो मनमा डर छैन। अन्धकारमा जीवन बितेको थियो, तर अब उज्यालोमै बाँकी जीवन बित्छ ।’