अबिरल बस्नेत `सुरज´
दोलखा । दोलखाको एपेक्स स्कुलमा तीनदिने स्टुडेन्ट तथा कल्चर एक्सचेञ्ज कार्यक्रम सम्पन्न भएको छ। सोमबारदेखि बुधबारसम्म सञ्चालन भएको कार्यक्रममा एपेक्स स्कुलका विद्यार्थीहरूले सांस्कृतिक, सामाजिक, र धार्मिक नृत्य तथा गीतहरू प्रस्तुत गर्दै नेपाली परम्परा र संस्कृतिको झल्को दिएका थिए।
कार्यक्रममा कोरियाबाट आएका १८ विद्यार्थी र ४ शिक्षक सहभागी भएका थिए। कोरियन टोलीलाई चार समूहमा विभाजित गरी दुई दिनसम्म एपेक्स स्कुलका विद्यार्थीहरूको घरमा बस्ने व्यवस्था गरिएको थियो। यस अवधिमा कोरियन विद्यार्थीहरूले नेपाली रहनसहन, सामाजिक मान्यता, र पौराणिक मूल्यबारे प्रत्यक्ष अनुभव गर्न सके।
कार्यक्रमका माध्यमबाट एपेक्स स्कुलका विद्यार्थीहरूका लागि पनि कोरियामा अध्ययन तथा सांस्कृतिक आदानप्रदानका नयाँ अवसरहरू खुल्ने सम्भावना बढेको छ।
एपेक्स स्कुलका प्रधानाध्यापक नसिब कायस्थका अनुसार, यस किसिमको कार्यक्रमले विद्यार्थीहरूलाई फरक ढंगले सोच्न प्रेरित गर्दै उनीहरूमा नवीन विचारको विकास गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ।