अबिरल बस्नेत
श्रीलंका । श्रीलंकाको अल हिजरा मुस्लिम महाविद्यालयले वार्षिक खेलकुद तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न गरेको छ। राजधानी कोलम्बोबाट ३० किलोमिटर दक्षिणमा रहेको उक्त विद्यालयको कार्यक्रममा नेपालबाट दोलखाको एपेक्स स्कुलका प्रधानाध्यापक नसिब कायस्थलाई प्रमुख अतिथिको रूपमा आमन्त्रित गरिएको थियो।
विद्यालयकी प्रिन्सिपल डा. एम.एस.एफ. सफिनाले विभिन्न देशका प्रतिनिधिहरूको सहभागिताले कार्यक्रम ऐतिहासिक बनेको बताइन्।
कार्यक्रममा एपेक्स स्कुलका प्रिन्सिपल कायस्थले श्रीलंका लगाएत अन्य देशका विद्यालयहरूसँग सहकार्य गर्दै दोलखाको एपेक्स स्कुललाई देशकै नमुना विद्यालय बनाउने आफ्नो योजना सुनाएका छन् । केही समयअघि नै उनले अल हिजरा मुस्लिम महाविद्यालयका शिशु कक्षाहरूका लागि गुरु योजना तयार गर्न सहयोग गरिसकेका थिए।
श्रीलंकाको सरकारी विद्यालयहरूमध्ये एक महत्वपूर्ण विद्यालय मानिने अल हिजरा मुस्लिम महाविद्यालयले यस कार्यक्रममार्फत श्रीलंकाका अन्य प्राध्यापकहरु (बौद्ध, हिन्दू, तथा अन्तर्राष्ट्रिय) सँग को भेटमा, सबै विद्यालयहरूसँग सहकार्य विस्तार गर्ने प्रारम्भिक छलफल गरेको कायस्थले बताए।
कार्यक्रम बिहीबार श्रीलंकाको कुरुनेगल जिल्लाको दम्बदेनिय क्षेत्रमा सम्पन्न भएको थियो।