अबिरल बस्नेत
दोलखा । गत असोजमा बाढीले बगाएको तामाकोशी–मन्थली सडक अन्तर्गत दोलखाको किर्नेटार सडक खण्ड पुनर्निर्माणको काम अझै अघि बढ्न सकेको छैन । असोज १२ गते आएको बाढीले किर्नेबजारदेखि भोर्लेसम्मको पक्की सडक बगाएपछि वैकल्पिक मार्ग सञ्चालन गरिएको भए पनि मूल सडक पुनः निर्माणको कार्य अलमलमै परेको छ ।
सडक बगाएपछि तीन दिनसम्म यातायात सेवा अवरुद्ध हुँदा दोलखा, रामेछाप, ओखलढुंगा लगायतका जिल्लाका बासिन्दाले ठूलो समस्या भोग्नुपरेको थियो । अस्थायी रूपमा हिमाल पावर लिमिटेडको खिम्ती १ जलविद्युत् आयोजनाको भित्री भाग हुँदै वैकल्पिक मार्ग खोलिएको थियो। तर, हालसम्म पनि साविकको सडक मर्मत नगरिँदा गाडीहरू यही अस्थायी मार्ग प्रयोग गर्न बाध्य छन् ।
स्थानीयले लामो समयसम्म वैकल्पिक मार्ग सञ्चालनमा राखिएको भन्दै असन्तुष्टि जनाएका छन् । तामाकोशी गाउँपालिका–५ सहरेका वडाध्यक्ष सम्भू फुयालका अनुसार पुनर्निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी आक्रोशित भएका छन्।
यसअघि, पौष २१ गते तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसी, सडक डिभिजन कार्यालय चरिकोटका प्रतिनिधि, हिमाल पावर लिमिटेडका पदाधिकारी र स्थानीय सरोकारवालाबीच भएको बैठकले साविकको स्थानमै अस्थायी सडक निर्माण गर्ने सहमति गरेको थियो। तर, सो सहमति कार्यान्वयनमा आउन सकेको छैन।
यसै क्रममा तामाकोशी गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले सोमबार सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ। जिल्ला प्रशासन कार्यालय दोलखा र रामेछाप, जिल्ला समन्वय समिति, तथा डिभिजन सडक कार्यालयहरूलाई आग्रह गर्दै तत्काल मूल सडक सञ्चालन गर्न माग गरिएको छ ।
यदि चाँडै नै साविकको सडक मर्मत कार्य सुरु नगरेमा वैकल्पिक मार्ग नै अवरुद्ध पार्ने चेतावनी दिँदै स्थानीयवासी आन्दोलित हुने संकेत गरेका छन् ।