दोलखा।
दोलखाका सहकारी संस्थामा आत्महत्या रोकथाम तथा ट्राफिक नियम सम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय दोलखा र ट्राफिक कार्यालयको आयोजनामा मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरिकोटमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।
जिल्लामा पछिल्लो महिनाहरुमा धेरै जसो भर्खरैका युवा पुरुषहरुमा बेरोजगारी, बैंक तथा सहकारीको तनाब,गरिबि, डिप्रेसन र विभिन्न कारणले आत्महत्याको बाटो रोज्नेको सङ्ख्या बढ्दै गइरहेकोले त्यस्ता घटना न्यूनिकरण गर्नका निम्ति सहकारी संस्था जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक दाताराम अधिकारीले बताए ।
सो अवसरमा उनले आत्महत्या बढ्दो अवस्थामा रहेको र आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताए । आत्महत्याको मुख्य कारकको रूपमा डिप्रेसन लगायतका अन्य विविध कारणहरूपनि भएको उल्लेख गर्दै आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडि बढ्नुपर्ने उल्लेख गरे।
अब आगामी दिनहरुमा तस्तै जिल्लाका बिभिन्न संघसंस्थामा आत्महत्या रोकथाम सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै जाने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईले पनि ट्राफिक नियम पालना सम्बन्धित विभिन्न जनचेतनामूलक प्रशिक्षण दिएका थिए। कार्यक्रममा संस्थाका संस्थापक तथा कर्मचारी लगाएतको उपस्थिती रहेको थियो।