अविरल बस्नेत ,दोलखा । २०८० सालको अन्तिम दिन दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ४ की ३५ बर्षिया कविता भण्डारी २२ दिनको छोरालाई खोप लगाउन स्वास्थ्य संस्था जाने तयारी गर्दै थिईन् । अस्पताल आउने तरखर गर्दैगर्दा कविताका ५ सन्तान मध्ये माईला छोरा छिमेकीको घरबाट भुइँमा बजारिएको खबर आयो । हतारहतार कविता छोरा विक्रम कहाँ पुगिन् । उनको दुवै हात चल्दै चलेन ।
बुबाआमाले विक्रमलाई तत्काल उपचारका लागि चरिकोट स्थित एक अस्पताल पुर्याए । प्राथामिक उपचार पछि विक्रमको दुवै हातको शल्यक्रिया गर्नु पर्ने भयो । चिकित्सकले काठमाण्डौं जान सुझाए । सामान्य ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विक्रमका बुवाले काठमाडौँ लगिहाल्ने आँट गरेनन् । उनले छोरालाई चरिकोटकै च्छो–रोल्पा अस्पताल पुर्याए ।
प्राथामिक उपचारपछि च्छो–रोल्पा अस्पतालले शल्यक्रियाको लागि फलोअपमा बोलायो । तर छिटो र निःशूल्क उपचारको आशले विक्रमका बुवाले उनलाई वैशाख १० गते बनेपाको एक अस्पतालमा पु¥याए । अस्पतालले शल्यक्रिया जटिल भएकाले तत्काल धरौटी रकम जम्मा गर्न भन्यो । निःशूल्क उपचारको आशले गएका विक्रमका बुवा त्यहाँबाट निराश हुँदै घर फर्किए र पुनः छोरालाई च्छो–रोल्पा अस्पतालमै लगे ।
र, वैशाख १२ गते च्छो–रोल्पा अस्पतालमै विक्रमको शल्यक्रिया भयो, निःशुल्क । विक्रमको उपचार जटिल र खर्चालु भएपनि उनको पारिवारिक अवस्था नाजुक रहेकोले अस्पतालले निशुल्क शल्यक्रिया गरिदिएको अस्पतालका मेडिकल डाईरेक्टर डा. विनोद दंगालले बताए ।
डा. दंगालका अनुसार विरामीको जटिल शल्यक्रिया गर्न करिब डेढ लाख खर्च लाग्ने थियो । तर आर्थिक अभावकै कारण कोही उपचार सेवा पाउनबाट बञ्चित हुन नपरोस् भनेर शल्यक्रिया गरिएको हो । डाक्टर दंगाल भन्छन्– ‘विपन्न वर्गका मानिसलाई आर्थिक समस्या भएकै कारण उपचारबाट वञ्चित गराउनु हुँदैन ।’
अहिले विक्रमको स्वास्थ्य सुधार हुँदै गएको छ । बाँकी औषधी उपचारका लागि स्थानीय दाताहरुले सहयोग गरेको आमा कविता भण्डारीले बताइन् । साथै यसमा भीमेश्वर नगरपालिकाले समेत सहयोग गर्ने आश्वासन दिएको छ । च्छो–रोल्पा अस्पतालले निःशुल्क शल्यक्रिया सहितको सेवा दिएर छोराको उपचार गरिदिएकोमा उनले अस्पतालप्रति धेरै आभार ब्यक्त गरेकी छन् । निजी अस्पताल भएर पनि च्छो–रोल्पा अस्पतालले निशुल्क उपचार गरेर आफ्नो परिवारलाई गुन लगाएको उनको भनाई छ ।