०६ भदौ, दोलखा । उपाध्यक्षको निजी चालकले चलाएको दोलखाको तामाकोशी गाउँपालिकाको गाडी दुर्घटना भएको छ ।
उपाध्यक्ष सिर्जना खड्का सुवेदी चढेको प्रदेश ३, ०१, ००२ झ ४९२६ नम्बरको स्कारपियो गाडी बुधबार अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको बन्देउमा मोटरसाइकलसँग ठोक्किएको हो । दुर्घटनामा घाइते भएका ललितपुर घर भएका मोटरसाइकल चालकको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
उक्त गाडी उपाध्यक्ष सुवेदीका निजी चालक नकुल कार्कीले चलाएका थिए । गाउँपालिकाका दरबन्दीका चालक भुवन कार्की विदामा बसेका बखत एक हप्ता अगाडी उपाध्यक्ष सुवेदीले गाउँपालिकाबाट नियुक्ति दिलाउने भन्दै आफुखुसि चालक राखेको बुझिएको छ । सरकारी गाडी चलाएको एक साता भन्दा बढी समय बितिसक्दा नयाँ चालकलाई नियुक्ति दिइएको छैन भने पुराना चालक विदा सकाएर गाउँपालिकाको कार्यालयमा हाजिर गरेर बसिरहेका छन् ।
उपाध्यक्ष सुवेदीले पनि नयाँ चालक राखेको ६ दिन मात्रै भएको र नियुक्ति हुन बाँकी रहेको प्रतिक्रिया दिइन् । तर पुराना चालकसँग असन्तुष्ट रहेकी उपाध्यक्ष सुवेदीले उनी छुट्टिमा बस्ना साथ नयाँ चालक राखेको गाउँपालिका स्रोतले जनाएको छ । तर उपाध्यक्षले आफुखुसि राखेको विना नियुक्तिको चालकले दुई साता भन्दा लामो समयदेखि गाउँपालिकाको गाडी चलाईरहे पनि पालिका प्रशासन भने मौन देखिएको छ ।