दोलखाका दुइ सहकारी संस्था एकीकरण भएका छन् । जनहित बहुउद्देशीय सहकारी संस्था र चित्रेस्वर बहुउद्देशीय सहकारी संस्था एकीकरण भएका हुन्।
शनिबार जिल्ला सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमका बीच दुबै सहकारी एकीकरण भएको घोषणा गरिएको हो । दुवै सहकारीको उद्देश्य एवं प्रकृति एकै किसिमको रहेकोले सहकारी ऐन, नियमावली र मापदण्ड अनुसार एकापसमा गाभिएको जनाइएको छ। जनहित साकोसका अध्यक्ष दिनेश बस्नेतले सदस्यहरुलाई गुणस्तरीय र समयसापेक्ष सेवा प्रदान गर्न सहकारी मर्ज गरिएको उल्लेख गरे । उनले दिगो र प्रभावकारी सञ्चालनको लागि सरकारले एकीकरणको प्रोत्साहन गरेकोले सोही बमोजिम गरिएको बताए । “सहकारी एकीकरणको चरणहरु पुरा गर्दै सहकारीलाई एकीकृत गरी सुदृढ रुपमा अघि बनाउन लागिएको हो ।” उनले भने” यो आर्थिक मन्दीको समयमा एकीकरण अपरिहार्य रहेको छ किन कि एकतामा बल हुन्छ।” चित्रेश्वर साकोसका अध्यक्ष दिल कृष्ण कायस्थले एकीकरणपछि संस्था बलियो हुनुका साथै सहकारी अभियान प्रभावकारी हुने बताए । उनले सहकारीको अस्तित्व विलिन होइन समान हुने गरी आम सदस्यहरुको हितमा एकीकरण गर्न लागिएको जानकारी दिए। नयाँ नाम, सञ्चालक समिति र नयाँ उत्साहका साथ सहकारीलाई नमूनायोग्य र स्वस्थ प्रतिस्पर्धि बनाइनुपर्ने उनले बताए ।