प्रतिनिधिसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गंगा कार्कीले उत्तरी नाका तिव्वत जोड्ने लप्ची नाका खुलाउनेबारे विशेष पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।
शनिबार प्रधानमन्त्री कार्यालयमा पत्राचार गर्दै सांसद कार्कीले प्रधामन्त्रीको चीन भ्रमणको एजेण्डामा दोलखाको विगु गाउँपालिका १ स्थित लप्ची नाका खुलाउने विषय समावेश गर्न आग्रह गरेका हुन् ।
लप्ची नाका सञ्चालन भएमा उत्तरी छिमेकी मुलुक चीनदेखि नेपालको तराई भूभाग जनकपुरसम्म वाणिज्य र पर्यटनको विकास हुनुका साथै यसले देशकै अर्थतन्त्रमा ठूलो भूमिका खेल्ने उनले बताएका छन् । उनले भनेका छन् – ‘हिमालदेखि छोटो दुरीमा मधेशसम्म जोडिने यो नाका बहुआयामिक महत्वको भएकाले सम्झौतामा महत्वका साथ लप्ची नाका खुलाउने एजेण्डा समावेश गरिदिनुहुन विशेष अनुरोध गर्दछु ।’ साथै उनले प्रधानमन्त्रीको चीन भ्रमणको सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।