काठमाडौं। सहकारी अभियन्ता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् । आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्षमसेत रहेका उप्रेती सहकारीको बचत हिनामिना गरेको अभियोगमा पक्राउ परेका हुन् ।
प्रहरी वृत्त महाराजगञ्जले अध्यक्ष उप्रेतीलाई बुधबार काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो । सहकारी सहकारी संस्थाकाे बचत रकम हिनामिना गरेकाे जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उप्रेतीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । साथै सो सहकारी संस्थाका अन्य सञ्चालक विरूद्ध पनि उजुरी परेको छ । उनीहरूका विरूद्ध पक्राउ पुर्जी जारी भएपनि खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ । ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष उप्रेती विरुद्ध बचत रकम हिनामिना जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो । उप्रेतीसँगै सहकारीका अन्य सञ्चालकमाथि पनि बचतकर्ताहरूले उजुरी हालेका छन् ।
केही समयअघि अध्यक्ष उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार गरेको भन्दै गुनासो गरेका थिए । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन)ले गत बैशाखमा आयोजना गरेको लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठीमा उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र अझै पनि यही क्षेत्रमा रहेर यस क्षेत्रको विकास र विस्तारमा लागिरहने धारणा राखेका थिए ।