चीनसँगको उत्तरी सीमानाका लप्चीमा असोज ७ गतेदेखि लप्चीबासीले आवतजावत गर्न पाउने भएका छन् । लामो समयदेखि आवागमन बन्द रहेको लप्ची नाकामा आइतबारदेखि लप्चीबासीले आवतजावत गर्न पाउने भएका हुन् ।
विशेषगरी दशै तिहार लगायतका चाडपर्व नजिकिएसँगै नेपाल र तिब्बतबीचको व्यापारलाई सुचारु गर्नका लागि नाकामा आवागमन खुला गरिएको विगु गाउँपालिकाका अध्यक्ष सञ्जिव वलीले जानकारी दिए । नाकामा आवागमन खुला हुने भएपछि लप्चीका स्थानीय खुसी भएका छन् ।
चार्डपर्वको समयमा नाका खुल्दा नेपालबाट तिब्बतमा याक, चौरी लगायतका पशुपंक्षीको व्यापार गर्न सकिने र तिब्बतबाट आवश्यक सामग्रीहरु ल्याउन सकिने लप्चीकाबासी कर्मा शेर्पाले बताए । विशेषगरी याक, चौंरी पालन गरेर जिविकोपार्जन गर्दै आएका स्थानीयले लप्ची नाका खुलाउन पहल गरेपनि नाका नखुल्दा उनीहरु निराश बनेका थिए । कोरोनाकालमा बन्द भएको सीमा नखुलेपछि आर्थिक स्रोत जुटाउन धेरै स्थानीयले गाउँ नै छाडिसकेका छन् । अधिकांश स्थानीय राजधानी काठमाडौं पसिरहेका छन् भने कतिपय तातोपानी नाकातिर लागेका छन् । लप्चिबासीले घिउ र याक, चौंरीका बाच्छा तिब्बतको ङ्यालम, कुती, फलाक बजार लगेर बेच्दै आएका थिए । नाका सुचारु हुने भएपछि हर्षित भएको लप्चीबासी शेर्पाको भनाई छ । कोरोना महामारीयता पूर्ण रुपमा बन्द रहेको उक्त नाकामा ४ वर्षपछि आवागमन सुचारु हुन लागेको हो । नाका बन्द भएर कारोबार नै हुन नपाउँदा आम्दानी ठप्प भएकाले लप्चिबासिलाइ निकै समस्या भएको थियो ।
नाका पूर्ण रुपमा खुलाउनका लागि नेपाल सरकारको तर्फबाट सचिव स्तरीय वार्ता समेत भएको थियो भने विगु गाउँपालिका र स्थानीयले समेत पहल गर्दै आएका थिए ।