दोलखा । गौरीशंकर गाउँपालिकाका सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति दोलखाले मंगलबार गौरीशंकर गाउँपालिकाका वडा नम्बर ३, ६, ७ र ८ मा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा वितरण गरेको हो ।
गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, वडा नं.६ का अध्यक्ष निमासाङे शेर्पा, वडा नं.७ का अध्यक्ष सोनाम शेर्पा, वडा नं.८ का अध्यक्ष दावा रेन्जी शेर्पा, राष्ट्रिय भूमि आयोग जिल्ला समिती दोलखाका अध्यक्ष ललित बहादुर मगर, राष्ट्रिय भूमि आयोग जिल्ला समिती दोलखाका सदस्य रिता रिमाल, नापी कार्यालय दोलखाका प्रमुख सिर्जना कटुवाल, गौरीशंकर गाउँपालिकाका एम आइएस अपरेटर कुसुम कुवारको उपस्तिथिमा ४७ जना भूमिहिन परिवारलाई निस्सा वितरण गरिएको हो ।
जिल्लाका ९ वटा स्थानीय तहमध्ये हालसम्म भिमेस्वर नगरपालिकाका २७ र गौरीशंकर गाउँपालिकाका ४७ जनालाई निस्सा प्रदान गरिएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति दोलखाका अध्यक्ष ललित बहादुर मगरले बताए ।
त्यस्तै, आयोगकी जिल्ला समिति सदस्य रिता रिमालले विभिन्न कागजपत्र र तिनपुस्ते विवरण भर्न छुटेका लाभग्राहीलाई पनि प्रक्रिया पूरा गरेर चाँडै निस्सा वितरण गरिने र निस्सा पाएकाहरुलाई छिटै लालपुर्जा वितरण गरिने बताइन् ।
गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले लामो समयसम्म जग्गा नपाएका सुकुम्बासी नागरिकले निस्सा प्राप्त गरेसँगै लालपुर्जा प्राप्त गर्ने बाटो खुलेकाेले पुर्जा प्राप्तिका लागि सहजीकरण गर्ने बताए ।
भूमि आयोग जिल्ला समिती दोलखाले बाँकी रहेका ७ वटा स्थानीय तहको लगत संकलनको काम सकि सकेको छ ।