राजकुमार भुजेल,दोलखा। हिमाली जिल्लाका रुपमा रहेको दोलखामा चिसो बढेसँगै दम तथा निमोनियाका बिरामी बढ्न थालेका छन्। जिल्लामा कोहि दिन अघि मात्र हिमपात र हल्का बर्षाले चिसो बढेसँगै दम तथा निमोनियाका बिरामी बढ्न थालेका हुन्।
सदरमुकाम चरिकोट स्थित च्छोरोल्पा जनरल अस्पतालमा अहिले दमका बिरामी तथा निमोनियाका बिरामी बढ्दै गएको मेडिकल डाइरेक्टर डाक्टर बिनोद दङगालले जानकारी दिए। अस्पतालमा केहि साता यता बालबालिकाहरूमा सामान्य रुघाखोकी देखि लिएर निमोनिया र ६० वर्ष उमेर भन्दा माथिका वृद्धवृद्धाहरुमा दम रोगको समस्या देखिएको बताए।गत वर्षको तुलनामा यस अस्पतालमा २० प्रतिशत बिरामीमा रुघाखोकी निमोनिया र दम रोगीका बिरामी बढेको डाक्टर दङगालले बताए।डाक्टर दङगालले भने,”अहिले अस्पतालको ओपिडी सेवामा ६० जना बिरामीहरु रहेको मध्येमा २० जना बिरामी सामान्य रुघाखोकी, निमोनिया र दमको बिरामीहरु रहेका छन्”।
त्यसभित्र अस्पतालमा अहिले ७ जना दम रोगी बिरामीको उपचार भइरहेको छ। चिसोले प्राय:जसो बालबालिकाहरूमा निमोनिया र सामान्य रुघाखोकीले सताउने र वृद्धहरुलाई दम रोगले सताउने गरेको यहाँका चिकित्साहरु बताउँछन् । यस्ता रोगहरूबाट बच्न नियमित रूपमा स्वास्थ्य परीक्षण गराइरहन पर्ने र दमको रोगीले डाक्टरको सल्लाहअनुसार नियमित औषधि सेवन गर्न यहाँका चिकित्साहरुको सुझाब छ।