दोलखा । नेकपा एमाले दोलखाको १० औं जिल्ला अधिवेशनको मिति तोकिएसँगै सदमुकाम चरिकोटमा नेता तथा कार्यकर्ताको चहलपहल बढेको छ ।
जिल्लाका होटल तथा चिया पसलहरु भरिन थालेका छन् । केन्द्रीय, जिल्ला तथा स्थानीय तहका नेताहरु जिल्लाको सदरमुकाम भित्रिएका छन् भने नेता तथा कार्यकर्ताको भेटघाट बाक्लिएको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले आफ्नो नेतालाई जिताउने तयारी गर्दै कार्यकर्ताहरु तल्लिन देखिन्छन् । अधिवेशनको तयारी तीब्र रुपमा भैरहेको छ । यो अधिबेशनमा एक ब्यक्ति एक पदको नियम कडा रुपमा लागू हुने चर्चा समेत चलिरहेको छ ।अधिवेशन यही माघ २२ देखि २४ सम्म चल्नेछ । अधिबेशन सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसमा हुने बताइएको छ । निर्वाचनका लागि ६ सय प्रतिनिधि आउने भएका छन् ।
को-को छन् त, अध्यक्षका आकांक्षी ?
नेकपा एमालेको १० औं जिल्ला अधिवेशनमा अहिलेसम्मको चर्चा हेर्ने हो भने ३ जना उम्मेदवारलाई अघि सारिएको छ । जसमा नर बहादुर श्रेष्ठ , इश्वरचन्द पोखरेल र भरत दुलालको चर्चा चलेको पाइन्छ । नरबहादुर श्रेष्ठ पुर्व मेलुङ गाउँपालिका अध्यक्ष तथा नेकपा एमालेका प्रदेश सभा ‘क’ का उम्मेदवार समेत थिए । उनि गत २०७९ को निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार कुन्दनराज काफ्लेसँग पराजित भएका थिए । त्यसैगरी, अर्को अध्यक्षका उम्मेदवार हुन इश्वरचन्द्र पोखरेल । उनी पनि तामाकोशी गाउँपालिकाका पुर्व अध्यक्ष हुन् । त्यस्तै, अर्का उम्मेदवार भरत दुलाल पनि शैलुङ गाउँपालिकाका पुर्व अध्यक्ष हुन् ।
यता, उपाध्यक्षमा भने मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकर तथा पुर्व पत्रकार राजेन्द्र मानन्धरको चर्चा चलेको छ । सँगै पार्टी उप-सचिव समेत भइसकेका सुन्दर कार्की पनि उपाध्यक्षको उम्मेदवार हुने बुझिएकाे छ । त्यस्तै सचिवमा कृष्ण बस्नेत , होम पाठक तथा सोयम बहादुर खड्काको चर्चा पनि उतिकै छ । उप- सचिवको चर्चाको कुरा गर्ने हो भने कमला बस्नेत , बिदुर शर्मा , धिरज सुवेदी , गायत्री आचार्य , मेनुका सुवेदी , रेशम रिमाल , हरि ओलि , इश्वर न्यौपाने , गणेश शिवाकोटी र गोमा केसीको चर्चा चलेको पाइन्छ ।