काठमाडौं । सेयर बजार मंगलबार झिनो अंकले घटेको छ । यस दिन नेप्से सूचक १.७६ विन्दुले घटेर २०३३.०६ अंकमा अडिएको छ । ३ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ५ वटा समूहका सूचक सकारात्मक रहेका छन् । मौद्रिक नीति समीक्षापछि बजार लगातारजसो घटिरहेको छ । यसबीचमा बजार झन्डै ७० अंकले घटिसकेको छ । तर मौद्रिक समीक्षाले सेयर बजारलाई नकारात्मक असर गर्ने कुनै पनि कदम चालेको छैन । यद्यपि, बजारले भने अहिलेसम्म सकारात्मक माहोल बनाउन सकेको छैन । कतिपयले बजार स्वभाविक करेक्सनमा गएको बताइरहेका छन । समीक्षाअघि बजार केही बढेको थियो । सोही अनुसार अहिले करेक्सन भएको भन्नेहरु पनि उत्तिकै छन् । अहिले लगातार बजार तल झर्नुपर्ने ठूलो कारण देखिएको छैन । यसर्थ, यो स्वभाविक घटाइ रहेको अनुमान गर्न सकिन्छ । विशेषगरी अल्पकालीन कारोबारी (ट्रेडरहरु) को रणनीतिले पनि बजारमा ठूलो प्रभाव पर्ने गर्छ । उनीहरुले थोरै मार्जिनमै काम गरिरहेका हुन्छन् ।
केही बढ्दा बेच्ने अनि अलिकति सस्तो हुने बित्तिकै किन्ने उनीहरुको प्रवृत्ति हुन्छ । यही रणनीतिले अहिले बजारमा काम गरिरहेको धेरैको बुझाई छ । भाउ घट्दै गएकाले पुनः विस्तारै उनीहरुले खरिदक्रम बढाउँदै जाने अनुमान गर्न सकिन्छ । समग्रतमा हेर्दा भने बजारले आगामी दिनहरुमा माथिल्ला रेखाहरु नै कोर्दै जाने देखिन्छ । बैंक ब्याजदर घट्दोक्रममा रहनु अनि वित्तीय प्रणालीमा तरलता सहज अवस्थामा हुनुले सेयर बजारमा सकारात्मक प्रभाव पार्दै जाने देखिन्छ । यद्यपि, बजारमा घटबढको क्रम चलिरहन्छ । तर औसत गतिमात्र माथितिरको हुने हो । आम लगानीकर्ताले योजनाबद्ध र रणनीतिक ढंगले लगानी सम्बन्धी निर्णय लिनुपर्ने हुन्छ । बजार घट्दै जाँदा आम लगानीकर्ताको मनोविज्ञान थप कमजोर हुने भएकाले धेरैले यस्तो बेला खरिदक्रम बढाउन सक्दैनन् । यस्तो बेला आपूर्ति पक्ष नै हावी हुन जान्छ । तर भाउ निरन्तर घटेर थप सस्तो भएपछि पुनः ट्रेडरहरु हावी हुन्छन् । माग पक्ष बलियो भएपछि पुनः मूल्य बढ्न जान्छ ।पछिल्लो ६ महिनायता लगातारजसो ब्याजदर घटिरहेको छ । बैंकहरुले कतिपय शीर्षकमा ११ प्रतिशत वा त्यो भन्दा अझै कममा कर्जाको ब्याजदर तोक्न थालिसकेका छन् । फागुन महिनाका लागि पनि ब्याजदर घटिसकेको छ । यता, निक्षेपको ब्याजदर त अझ निकै तल आइसकेको छ । निक्षेपमा ब्याजदर घटेपछि बैंकहरुको कस्ट अफ फन्ड घट्न जानेछ । यसकारण आगामी दिनमा कर्जाको ब्याजदर पनि थप सस्तो हुँदैछ । बेस रेट घट्दै जाने भएकाले कर्जाको ब्याजदर पनि झन् सस्तो हुने भएको हो । सेयर बजारमा उतारचढावहरु आइरहने भएकाले आम लगानीकर्ताले मजुबत वित्तीय अवस्था भएका, लाभांश दिन सक्ने कम्पनीमा लगानी गर्नुपर्छ । होल्ड गर्ने अवधिसमेत निश्चित गरेर लगानीकर्ताले आगामी दिनमा लाभ लिन सम्भावना अधिक रहेको देखिन्छ । सेयर बजार जोखिमको क्षेत्र भएकाले लगानी गर्दा स्वअध्ययन पनि आवश्यक हुन्छ ।यस दिन ३१४ कम्पनीको ९३ लाख ४२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
३१ करोड ७३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोसो र तेस्रो स्थानमा क्रमशः साना किसान विकास बैंकको संस्थापक सेयर र जोशी हाइड्रोपावर परेका छन् ।