राजकुमार भुजेल, दोलखा। भिमेश्वरका विद्यार्थीलाई विपद् व्यवस्थापन र आत्मरक्षा सम्बन्धी व्यवहारिक सिप प्रशिक्षण दिन सुरु गरेको छ। भिमेश्वर नगरपालिकाकाे आयाेजना र काेच नेपालकाे सहकार्यमा आइतबारबाट एक दिवसिय विपद् व्यवस्थापन अन्तर्गत ग्याँस बाट हुने आगलागि नियन्त्रण, प्राथमिक उपचार र आत्मरक्षा सम्बन्धि ब्यबहारिक सिप प्रशिक्षण दिन सुरु गरेको हो।
तालिमको उद्घाटन भिमेश्वर नगरपालिका नगर प्रमुख ईश्वर नारायण मानन्धले गरेका थिए। नगरपालिका भित्रका सम्पूर्ण माद्यामिक बिद्यालयका कक्षा ८ देखि १० मा अध्ययनरत विद्यार्थीहरुलाई सो प्रशिक्षण दिएको नगरका प्रवक्ता तारानाथ चौलागाईंले बताए। पहिलाे दिन भिमेश्वर कालिञ्चाेक माध्यमिक विद्यालय र पशुपति कन्या माध्यमिक विद्यालयमा अभ्यास तथा प्रशिक्षणको शुभारम्भ गरेको प्रवक्ता चौलागाइँले बताए । तालिमकाे उद्धेश्य विद्यार्थीहरुमा सिकाइका अतिरिक्त व्यवहारिक सिप प्रदान गर्ने रहेकाे बताइएको छ ।
व्यवहारिक सिप प्रशिक्षणमा अग्नि नियन्त्रण गर्ने तरिकाकाे अभ्यास, दुर्घटना हुँदा दुर्घटनाकाे प्रकृति हेरि घटनास्थलमा तत्काल गर्न सकिने उपचार र मानिस लगायतबाट आक्रमण हुदाँ बच्न अवलम्बन गरिने उपायहरुकाे अभ्यास गराईनेछ । उक्त कार्यक्रममा कालिञ्चाेक मावि र पशुपति कन्या माविका २ सय २० जना विद्यार्थीको सहभागिता रहेकाे थियो। आइतबार देखि सुरु भएको उक्त प्रशिक्षण आगामी चैत २ गते सम्म नगर भित्रका विद्यालयहरुमा सञ्चालन हुनेछ ।
त्यस्तै प्रवक्ता चाैलागाईको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख मानन्धर, कालिञ्चाेक माविका प्रधानाध्यापक शम्भु गाैतम, पशुपति कन्या माविका शिक्षक निरज आचार्य, काेच नेपालका प्रमुख सुमन खत्री, विद्यार्थी लगाएतको उपस्थिती रहेको थियो।