राजकुमार भुजेल,दोलखा। दोलखाको सदरमुकाम चरिकोटमा ११ दिने हाते होजियारी बुनाई तालिम सम्पन्न सम्पन्न भएको छ ।गत फागुन १९ गते देखि उज्यालो भविष्य संस्थाको आयोजना र भिमेश्वर नगरपालिकाको सहकार्यमा महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सुरु भएको सो तालिम मङ्गलबार सम्पन्न भएको हो।
सो अवसरमा तालिमका विशेष अतिथि कमला बस्नेतले तालिमलाई बालुवामा पानी हालेको जस्तो हुन नदिन आग्रह गरिन् । उनले तालिम अवधिभर सिकेको सिपलाई व्यवसायिक सिपमा परिणत गर्दै सिपलाई आयस्रोत बनाउनु पर्नेमा जोड दिइन्।आफ्नै घरमा बसेर जुनसुकै समयमा बनाउन मिल्ने भएकाले आफुले बुनेका सामग्रीले बजार नपाएको खण्डमा बजारिकरण सम्म पुर्याउन भिमेश्वरले सहयोग गर्ने प्रतिबद्धता दिइन् ।
नगर प्रमुख ईश्वरनारायण मानन्धरले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्न आग्रह गरे । आफुले सिकेका सिपलाई परिमार्जन गरेर सिपलाई निखारता गर्दै अघि बढ्न अनुरोध गरे। महिलाहरूले बनाएका सामाग्रीहरूलाई बजारीकरण गर्नको निमित्त नगरले भिमेश्वर नगरपालिकामा सञ्चालित कोसेली घर सँग समेत सहकार्य गरेर त्यहाँ राख्ने वातावरण मिलाउने प्रतिवद्धता जनाए।
त्यस्तै संस्थाका अध्यक्ष राजन बस्नेतको अध्यक्षतामा सम्पन्न भएको तालिममा नगर प्रमुख मानन्धर, उपप्रमुख बस्नेत,नगरका प्रवक्ता तारानाथ चौलागाईं, रेडियो भिमेश्वरका स्टेसन म्यानेजर गोकर्ण भण्डारी, संस्थाका महासचिव निर्जला आचार्य,सचिव सिर्जना श्रेष्ठ लगायतले मनतव्य व्यक्त गरेका थिए। ११ दिन सम्म सञ्चालन भएको तालिममा २५ जना महिलाहरुको उपस्थिती रहेको थियो।तालिमको सहजिकरण मैया श्रेष्ठले गरेकि थिइन् ।