दोलखा । दोलखाको विगु गाउँपालिकामा एक हप्ते उद्यमशिलता विकास तालिम सुरु भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालय दोलखाको सह-आयोजनामा विहीबारदेखि सिंगटी बजारमा तालिम सुरु गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै विगु गाउँपालिका अध्यक्ष संजीव ओलीले युवाहरुमा स्वरोजगार बन्ने माध्यमका रूपमा यसखालका तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले माथिल्लो निकायबाट व्यवसायीहरूलाई सिप र यहीँ केही गरौँ भन्न प्रोत्साहन गर्दा आफूहरू पनि सक्दो सहयोग गर्न तयार रहेको बताए ।
तालिममा क्षमता पहिचान गराउने, स्थानीय स्रोत र साधनमा आधारित व्यवसाय गर्न प्रेरित गर्ने, बैंक तथा वित्तीय शिक्षा, कर शिक्षा,
दर्ता प्रक्रिया कानुनी ब्यवस्था, संचालन प्रक्रिया, व्यवसायिक योजना बनाउन सिकाउने, समुहगत अभ्यास, बजारीकरण गर्न सिकाउने जस्ता तालिम संचालन हुनेछ ।
जिल्लामै केही उद्यम गर्ने योजनामा रहेका महिला पुरुषको सहभागिता रहेको उक्त तालिमले उद्यमी बन्न र स्थानीय स्रोत साधनको प्रयोग गरी उत्पादन गर्न प्रोत्साहन गर्ने आयोजक लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका प्रमुख चन्द्र देव जोशीले बताए ।
दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेश उप्रेतीले यस्ता तालिमहरू सञ्चालन गरेर यहाँका युवालाई दक्ष बनाउन भूमिका खेलेकोमा खुसी व्यक्त गरे ।
तालिम जेठ २३ गतेसम्म चल्नेछ ।