काठमाडौं। काठमाडौं जिल्ला अदालतले पशुपतिको भेटी चोरी प्रकरणमा पाँचजनालाई थुनामा पठाउने आदेश दिएकाे छ । जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको थियो ।
न्यायाधीश कपिलमणि गौतमको इजलासले एकजनाबाहेक सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश गरेको हाे । अदालतले सत्यनारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेकाे छ भने अरू प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकाे हो ।भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सत्यनारायण जोशी, सञ्जय कपाली, कुमार दमाई र अनिल परियार संलग्न रहेको भन्दै अदालतमा मुद्दा पुगेको छ । सिसिटिभी फुटेजमा हेर्दा पशुपतिनाथ मन्दिरको भेटी चोरेको खुलेसँगै प्रहरी वृत्त गौशालाको प्रतिवादीहरूलाई हिरासतमा राखेर अनुसन्धान सकेपछि मुद्दा अदालतमा पुगेको थियो ।
भेटी चोर्ने समूहलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि एक लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ।