दोलखा।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउमा आज प्रदर्शन गरेको छ । जिल्लाको सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन गरेको हो ।
सोमबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुले सदरमुकाम चरिकोट स्थित पार्टी कार्यालयमा केन्द्रीत भएर सातदोबाटो देखि टुडिखेलसम्म र्याली सहित शान्तिपूर्ण नाराबाजी गरेर सातदोबाटोमा कोणसभा गरेका थिए । सभापति लामिछाने विरुद्ध सुर्य दर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर लामिछानेले सो सहकारीको रकम अपचलन गरेको आरोप छ । लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ ।
प्रदर्शनमा निलो क्रान्ति जिन्दावाद, दुई तिहाई तिम्रो पाराले दुख पाए साराले,४६ सालपछि सम्पूर्ण भष्ट्रचारीलाई छानबिन गरि कार्वाही गर,माफियाहरूलाई कारवाही गर, सहकारीपीडितलाई न्याय दे, लगायतका नारा लगाएका थिए । रास्वपा दाेलखाका सभापति दिनेश बस्नेतकाे सभापतित्वमा भएकाे काेणसभामा रास्वपाका नेता जगदीश खरेल,रमेश श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गरेका थिए।