दोलखा । सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं अस्पतालमा सुत्केरी गराउँदा शिशुको हात भाँचिएको छ । वैतेश्वर गाउँपालिका-३ खानीगाउँकी अस्मिता खत्रीको सुत्केरीका क्रममा नवजात शिशुको हात नै भाँचिएको हो ।
घटना गत असार २० गतेको हो । श्रीमान् गोविन्द राउतले गर्भवती श्रीमती अस्मिताको पशुपति चौलागाईं स्मृति अस्पतालमा पुगेर पहिलो पटक बच्चाको अवस्था जाँच गराएका थिए । भिडियो एक्स-रे पछि चिकित्सकले गर्भमा बच्चाको अवस्था राम्रो रहेको र नर्मल डेलिभरी हुने बताएका थिए । चिकित्सकको कुरामा ढुक्क रहेका राउत दम्पती त्यस दिन घर फर्किए ।
श्रावण ३ गते बेलुकी अस्मितालाई सुत्केरी व्यथाले च्याप्यो । रातको ११ बजे श्रीमान् गोविन्दले अस्मितालाई पुनः पशुपति अस्पताल पुर्याए । भोलिपल्ट (श्रावण ४ गते) विहान करिब १० बजेतिर अस्मिताले नवजात शिशु (छोरी ) लाई जन्म दिइन् । अस्पतालले अस्मिताको नर्मल डेलिभरी भएको र आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको जानकारी दियो ।
परिवारको पहिलो सन्तान हेर्न आत्तिएका आफन्तले शिशुलाई भने सग्लो देखेनन् । शिशुको हात नै भाँचिएको थियो । नर्मल डेलीभरी भएको बच्चको हात भाँचिएको देखेपछि अस्मिताका श्रीमान् राउतले यसबारेमा अस्पतालसँग जावफ मागे ।
चिकित्सकले कुम अड्किएर बच्चा तान्दा बच्चाको हात भाचिएको र यो सामान्य भएको जानकारी दिए ।
त्यसपछि बच्चाको हातमा प्लास्टर गरियो । ५ दिनको अस्पताल बसाइपछि राउत दम्पती बच्चा लिएर घर फर्किए ।
साउन २९ गते मंगलबार राउत दम्पती आफ्नो बच्चाको स्वास्थ्य अवस्था जाँच गर्न पुनः अस्पताल पुगे । अस्पतालमा जाँच गराउँदा अस्पतालका चिकित्सक डा. आदर्श लिम्बुले बच्चाको हात बाङ्गो भएकाले पुनः प्लाष्टर गर्नु पर्ने बताए । सोही अनुरुप पुनः बच्चा हातको प्लाष्टर गरियो । अहिलेपनि बच्चाको हातमा प्लाष्टर नै रहेको छ ।
शिशुका बुबा गोविन्द राउतले अस्पतालको लापरबाहीका कारण २ पटकसम्म नवजात शिशुको हात भाँचिएको बताएका छन् । ‘बच्चा जन्माउने वेलामा हात नै भाँचिदिए, त्यसपछि प्लाष्टर गरे । एकपटक प्लाष्टर गरिएको हात पुनः जाँच गराउँदा बाँङ्गो भएको बताइयो ।’ उनले भने-एक दुई पटक हैन बारम्बारको लापरबाही भएकाले अस्पतालले यसको गम्भीरतापूर्वक जिम्मेवारी लिनुपर्छ र क्षतिपुर्ती दिनुपर्छ ।’
पीडित परिवारले अस्पतालको गम्भीर लापरबाही भएको आरोप लागाएका छन् ।
यस घटनाका विषयमा पशुपति चौलागाईं स्मृति अस्पतालले भने कुनै पनि आत्मग्लानी गरेको छैन । यसबारेमा जवाफ माग्दा अस्पतालका निमित्त कार्यालय प्रमुख डा. रोशन आचार्य यो सामान्य घटना भएको भन्दै पन्छिएका छन् । उनले यस्ता घटना हुनु सामान्य हो भन्दै गैरजिम्मेवार जवाफ दिएका छन् । यतिसम्मकी यस घटनाका बारेमा अस्पतालले कुनै स्पष्टिकरण दिएको छैन ।
पीडित परिवार भने न्यायको पखाईमा छन् ।