दोलखा । भिमेश्वर नगरपालिका वडा नं ७ ले विदुर पुरुष सहायता र जेष्ठ नागरिक सामाजिक सुरक्षा कार्यक्रमसहित जेष्ठ नागरिक र एकल पुरुषलाई सम्मान गरेको छ ।
वडा अध्यक्ष विनोद लामाको पहलमा ३० जना विदुर पुरुष र २ सय ३५ जना जेष्ठ नागरिकलाई दशैँको अवसरमा अतिरिक्त भत्तासहित सम्मान गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष विनोद लामाले हाल ४० वर्ष माथिका विदुर पुरुषलाई वार्षिक ५ हजार रुपैयाँका दरले प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तालाई बढाएर आगामी वर्षदेखि ६ हजार बनाउने बताए । यसैगरी जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्तामा पनि थप १ हजार रुपैयाँ गरिने उनको भनाई छ ।
कार्यक्रमका प्रमुख आतिथि पूर्व वडा अध्यक्ष कैलाश कुमार श्रेष्ठले जेष्ठ नागरिकको सम्मान स्वरूप विगतका आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिइएको भन्दै वर्तमान वडा समितिलाई धन्यवाद दिनुभयो ।
त्यसैगरी, वडा नम्बर ६ का अध्यक्ष नवीन कुमार लामाले समयको चक्र सँगसँगै सबै मानिसहरू वृद्ध हुने भएकाले हाम्रा भावी पुस्तालाई सिकाउन, हामीले पनि भावी पुस्ताबाट यस्तै सामाजिक कार्यको अपेक्षा राख्न र भविष्यमा पनि यसको प्रभाव परिरहोस भनेर सामाजिक कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो ।
वडा अध्यक्ष विनोद लामाले नेपालीको महान् पर्व शुभ विजयादशमी तथा दीपावलीको अवसरमा जेष्ठ नागरिकबाट आशिर्वाद प्राप्त गर्न, उहाँहरुको मनोबल बढाउन सम्मान स्वरुप वडागत बजेटबाट केही योगदान गरिएको बताउनुभयो ।