काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनल खेलमा नेपालले ओमानलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनायो ।
नेपालका लागि गुलशन झाले ५४ रनको अर्धशतकीय पारी खेले । २५ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे ।
नेपालका रोहित पौड्यलले ५२ रनको अर्धशतकीय पारी खेले । ३७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै कुशल भुर्तेल ३१ रन बनाउँदा करण केसीले मात्र ६ बलमा २० रनको योगदान गरे ।
बलिङतर्फ ओमानका लागि बिलाल खानले तीन विकेट लिए । त्यस्तै काकिव लियस दुई विकेट लिँदा जेसन मक्सोदले एक विकेट लिए ।
टी–२० विश्वकपमा छनोट भइसकेका दुई टोली आज एसियाकप फाइनल छनोटको उपाधि जित्ने लक्ष्यमा छन् ।
आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल र ओमान दुवै समूह ‘ए’मा थिए। समूह चरणमा ओमानले शतप्रतिशत जित निकाल्दा समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो। नेपालका लागि घरेलु दर्शअघि ओमानविरुद्ध समूह चरणको हारको बदला लिँदै च्याम्पियन बन्ने मौका रहेको छ।
दुई टोलीबिच भएका ५ खेलमा नेपालले ३ तथा ओमानले २ खेल जितेको छ । तर, ओमान पछिल्लो समय राम्रो लयमा देखिएको छ । टोली पछिल्ला ५ खेलमा अपराजित रहेको छ । नेपालले भने पछिल्ला ५ मध्ये ३ खेलमा जीत र दुई खेलमा हार बेहोरेको छ ।
कीर्तिपुर र मूलपानी मैदानमा सञ्चालन भएको प्रतियोगिताको समूह ‘ए’मा नेपालसँगै ओमान, सिंगापुर र मलेसिया थिए। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत थिए।