काठमाडौं । झापाको दमकस्थित बालुवाटारको झन्डै ३० बिघा सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७२ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सो मुद्दामा सरकारी कर्मचारी र सुरुमा आफ्नो नाममा जग्गा दर्ता गर्ने ३६ सहित ६४ जनालाई मुख्य प्रतिवादी बनाइएको छ । जग्गा फिर्ता प्रयोजनका निम्ति थप १०८ जनालाई प्रतिवादी बनाएको अख्तियारले जनाएको छ ।
दमक नगरपालिका–१३ र १४ कायम भएको बालुवाटारका नौ कित्तामा रहेको २९ बिघा १७ कट्ठा चार धुर जग्गा व्यक्तिका नाममा सारिएको अख्तियारको दाबी छ ।
रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फको कित्ता नम्बर ७६०/१, ७६१, ७६२, ७७३, ७८३, ७८४, ७८६, ७८७, ७८८ र साविक दमक ६ ‘ग’ र दमक ५ ‘ख’बीचको मार्जिनका जग्गाहरू २०२१ सालको सुरु नापीमा सरकारी सार्वजनिक भएको फिल्डबुक र जग्गाधनी दर्तास्रेस्ताबाट देखिएको अख्तियारको दाबी छ ।
ती जग्गाका कित्ताहरू नापी कार्यालय, चन्द्रगढी, मालपोत कार्यालय, दमक, र नापी कार्यालय, दमकबाट पुनः नापीका बखत विभिन्न व्यक्तिहरूका जग्गामा घुसाई हालसाविकबाट जग्गा दर्ता गरी व्यक्तिका नाममा गरिएको अख्तियारको दाबी छ ।
अख्तियारले ३४ करोड ६६ लाख ५४ हजार ८४९ रुपैयाँ ६५ पैसा बिगोसहित दोषीमाथि कारबाही र जग्गा जफतको मागदाबी गरेको छ ।
झापाको बालुवाटारकाण्डमा सार्वजनिक पद धारण गरेका मध्ये नापी कार्यालय, चन्द्रगढीका १० कर्मचारी, मालपोत कार्यालय, दमकका ११ र नापी कार्यालय, दमकका सात कर्मचारीलाई प्रतिवादी बनाइएको छ ।
यस्तै, सार्वजनिक जग्गा गैरकानुनी हालसाविकमार्फत आफ्नो जग्गामा घुसाई दर्ता कायम गरेका सुरु जग्गा दर्तावाला ३६ जनालाई विपक्षी बनाइएको छ । बिगो असुलउपर र जग्गा जफत प्रयोजनका निम्ति १०८ जनालाई प्रतिवादी बनाउँदै अख्तियारले १७२ विरुद्ध मुद्दा दायर गरेको हो । – बाह्रखरी