रामहरि कार्की/मृत्युका विविध कारणमध्ये कृत्रिम कारण हो – आत्महत्या । नेपालमा मृत्युको प्रमुख कारणमध्येकै रूपमा आत्महत्या देखिएको छ । सरकारी तथ्याङ्क हेर्ने हो भने सवारी दुर्घटना र आत्महत्याको भयावह तथ्याङ्क छ । दैनिक आठदेखि १५ जनासम्मले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् । दैनिक सातदेखि १० जनाले देशभर आत्महत्या गर्ने गरेको पाइन्छ तर यो तथ्याङ्कलाई गम्भीरताका साथ नलिँदा आत्महत्या दिनप्रतिदिन बढिरहेको छ । मानिस आफैँले आफैँलाई हरेक दिन सिध्याइरहेका छन् । सानो कारणसँग जुध्न नसक्ने र ठुल्ठुला समस्यामा जुधिरहेकाहरूले समाधानको बाटो खोज्नुको साटो आफ्नो जीवन आफैँ समाप्त पारिरहेका छन् ।
नेपाल प्रहरीको दाबी
२०७९ साउनदेखि २०८० असारसम्म नेपाल प्रहरीको एक वर्षको तथ्याङ्क अनुसार देशभर छ हजार ९० जनाले आत्महत्या गरेका छन् । यो वर्ष दैनिक २१ जनाभन्दा बढीले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्क छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुवेर कडायतका अनुसार विगतका वर्षहरूमा भन्दा पछिल्लो वर्षमा आत्महत्या निकै बढेको छ । प्रहरी तथ्याङ्क हेर्दा यो निकै भयावह स्थिति हो । “नेपालमा आत्महत्या निकै डरलाग्दो छ, यसले समाजमा अर्को विचलन ल्याउँदै छ,” उनी भन्छन्, “यसमा हामी र सरोकारवाला निकाय गम्भीर हुनु पर्छ, मानिसलाई आत्महत्याको बाटो रोज्न दिनु हुँदैन ।”
उनकै अनुसार गत वर्ष आत्महत्या गरेकामध्ये सबैभन्दा धेरै पुरुष छन् । जसमध्ये तीन हजार ४९८ पुरुष, एक हजार ९९५ भन्दा बढी महिला, २४२ बालक र ४४४ जना बालिका छन् । गत वर्षको प्रहरी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा आत्महत्या गर्नेको सङ्ख्या सात हजार ९८७ थियो । त्यसमा पनि पुरुषको सङ्ख्या धेरै थियो । त्यस्तै त्यसअघि आव २०७७/७८ मा सात हजार १४१ जनाले आत्महत्या गरेका थिए । हरेक वर्ष हजारौँले आत्महत्या गरेको यो तथ्याङ्कले नेपाल आत्महत्या हुने देशहरूमध्ये प्रमुख देशका रूपमा रहेको पाइन्छ ।
विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार भारतमा विश्वमै सबैभन्दा धेरै मानिसले आत्महत्या गर्दछन् । सन् २०२२ मा भारतमा कुल दुई लाख २० हजारभन्दा बढीले आत्महत्या गरेका थिए । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख ५८ हजार रहेको पाइन्छ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार दक्षिण तथा पूर्वी एसिया विश्वमा सबैभन्दा बढी आत्महत्या हुने क्षेत्र देखिएको छ । विश्वमा हुने आत्महत्यामध्ये ३९ प्रतिशत यही क्षेत्रका निम्न तथा मध्यम आय भएका मुलुकका जनताले गर्ने गर्दछन् । यस क्षेत्रका कृषिमा आधारित जनताले आत्महत्या गर्ने मुख्य साधन भनेको विषादी सेवन रहेको छ ।
नेपालमा गएको वर्ष सबैभन्दा बढी आत्महत्या गर्नेको तथ्याङ्क छ । गत वर्ष अर्थात् आव २०७९/८० मा सबैभन्दा बढी कोशी प्रदेशमा एक हजार ३६५ जनाले आत्महत्या गरेका थिए । सोही वर्ष लुम्बिनी प्रदेशमा एक हजार १५६, मधेश प्रदेशमा ९१४, बागमती प्रदेशमा ८४२, गण्डकी प्रदेशमा ६६२, कर्णाली प्रदेशमा २५१, सुदूरपश्चिम प्रदेशमा ५०५ र काठमाडौँ उपत्यकामा ४७२ जनाले आत्महत्या गरे । यसमध्ये काठमाडौँ उपत्यकामा ३१२ पुरुष, १४९ महिला, छ बालक र पाँच जना बालिकाले आत्महत्या गरेको पाइयो । सबैभन्दा बढी बालिकाले मधेश प्रदेशमा आत्महत्या गरेका छन् । त्यहाँ १३९ जना बालिका र ३३८ जना महिलाले आत्महत्या गरे । सोही आवमा त्यहाँ १७६ जना बालिका र ३६५ जना महिलाले आत्महत्या गरे ।
आत्महत्याको मूल कारण
आत्महत्या बढ्नुका कारण धेरै देखिएका छन् । यसमध्ये दुरुत्साहन मूल कारणका रूपमा देखियो । गत वर्ष २०७९/८० मा देशभर १६१ वटा आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमा दर्ता भएका जाहेरीका आधारमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २८ वटा मुद्दा दर्ता भएको देखिन्छ । प्रहरीकै तथ्याङ्क हेर्दा कोशी प्रदेशमा २०, मधेशमा २१, बागमतीमा २३, गण्डकीमा १०, कर्णालीमा ११ र सुदूरपश्चिममा २४ वटा आत्महत्या दुरुत्साहनका मुद्दा दर्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्र २४ वटा मुद्दा रहेको छ ।
अध्ययन अनुसार नेपालमा आत्महत्या गर्ने मुख्य व्यक्तिहरूमा विवाहित देखिएका छन् । तथ्याङ्कले के देखाएको छ भने नेपालमा बालविवाहका कारणले गर्दा पारिवारिक समस्याले भयावह रूप लिने र आवश्यकता पूरा गर्न पनि हम्मेहम्मे पर्ने हुनाले उनीहरूले आत्महत्या गर्ने गरेका छन् । नेपाल प्रहरीको अनुसन्धानहरूले नेपालमा ७५ प्रतिशत आत्महत्या ३५ वर्षको उमेर समूहमुनिका नै भएको देखाएको छ । ६० प्रतिशत आत्महत्या ३० वर्षमुनिकाले गर्ने देखिएको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले नेपालमा भएका आत्महत्यामध्ये ७५ प्रतिशत विवाहितले गरेको देखाइएको छ ।
नेपालमा जम्मा आत्महत्यामध्ये धेरै जसो विष सेवनबाट देखिएको छ । दोस्रोमा झुन्डिएर भएको कुरा विभिन्न तथ्याङ्कले देखाएको छ । सामाजिक र आर्थिक अवस्था तथा मानसिक स्वास्थ्य, गरिबी, विभेद, शिक्षाको कमी, महिलाको अवस्था, घरेलु हिंसा, महिला हिंसा आत्महत्याको ठुलो कारण रहेको देखिन्छ । हरेक उमेर समूहमा आत्महत्या गर्ने प्रवृत्ति देखिएको छ । यस्तै आत्महत्याको रोकथामका लागि सरकारले खासै कदम चालेको देखिएको छैन ।
मनोवैज्ञानिकको सुझाव
मनोवैज्ञानिकका अनुसार आत्महत्या हुनुका कारण धेरै छन् । यसको गहिराइसम्म पुगेर अध्ययन गर्ने हो भने यसको रोकथाम गर्न सक्ने उपाय भेटिन्छन् । धेरै हदसम्म रोकथाम गर्न सकिने आत्महत्या रोकथाममा काम गर्दै आएको संस्था टिपिओ नेपालका चिकित्सा मनोविज्ञ भरत गौतमको धारणा छ । पाटन अस्पतालका डा. वासुदेव कार्कीका अनुसार आत्महत्या बढ्नुका कारण धेरै छन् । त्यसबारे अध्ययन पनि भएका छन् तर जनचेतनाको भने कमी छ ।
विशेष गरी मानिसले देखाउने केही पूर्वसङ्केतलाई जसमा आत्महत्याका विचार समावेश हुने उनको धारणा छ । त्यस्तो अवस्था आएमा साइकोथेरापी, औषधी वा अन्य सेवा लिन सकिने; जसले गर्दा आत्महत्या हुन सक्ने जोखिम न्यूनीकरण हुन सक्ने उनको बुझाइ छ । “अहिले आत्महत्याका पछाडि मनोसामाजिक कारण वा मानसिक समस्या जोडिएका हुन्छन्,” उनले भने, “सिभियर डिप्रेसन (डिप्रेसनको गम्भीर अवस्था) भएको व्यक्तिले आफूलाई अन्त्य गर्न सक्ने जोखिम बढी हुन्छ ।” उनका अनुसार यसबाहेक आर्थिक समस्या, सम्बन्धमा आएको खराबी, जीवनका कतिपय घटनामा असफलता, उद्देश्य नहुनु, एक्लोपना आदिले तत्कालीन रूपमा निम्त्याएको परिणामले पनि आत्महत्या हुने गरेका छन् ।
आत्महत्या हुनुपूर्व मानिसको अवस्था र उसले देखाएको व्यवहारबारे केही जानकारी भएमा त्यो जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । जसमा परिवारले आफ्नो सदस्यको अवस्था हेरेर आवश्यक सेवा लिनका लागि सम्बन्धित निकाय (मनोवेत्ता वा अस्पताल) मा लैजान सक्नु पर्छ । त्यस्तै वरिपरिका साथीहरूले पनि यसमा ध्यान दिएर सुरुवाती चरणमा उसका कुरा सुनिदिएर उनलाई बुझ्न कोसिस गर्दा पनि आत्महत्याको भयानक जोखिमलाई धेरै हदसम्म कम गर्न सकिने मनोचिकित्सकको बुझाइ छ ।
डा. कार्कीका अनुसार आत्महत्याको प्रयास गर्नेमा पुरुषभन्दा महिला बढी मात्रामा देखिएका छन् तर आत्महत्या गर्नेमा भने पुरुषको सङ्ख्या बढी देखिएको छ । यसको मुख्य कारण आत्महत्या गर्ने तरिका भएको अनुमान गर्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार आत्महत्या हुने माथिल्ला २५ देशलाई हेर्ने हो भने प्रत्येक २५ सेकेन्डमा एक जनाले आत्महत्या गर्दछन् । यसको अर्थ हामीले यो लेख पढ्दा पढ्दै पनि कतिपय व्यक्तिले आत्महत्या गरिसके । कतिले गर्दै छन्, त्यसैले आत्महत्याको तथ्याङ्क भयावह नै रहेको पुष्टि हुन्छ ।
यी हुन सक्छन् आत्महत्याका सङ्केत
– आत्महत्या गर्न मन लागेको कुरा बारम्बार गरिरहनु,
– जीवन नै व्यर्थ लागेको कुरा बारम्बार गर्नु,
– जीवनमा समस्या नै समस्या रहेको कुरा गर्नु र समाधान नभएको कुरा गर्नु,
– साथीभाइ र परिवारबाट टाढा बसिरहनु,
– अत्यधिक जोखिमयुक्त कार्य गर्नु,
– अत्यधिक रूपमा व्यवहारमा परिवर्तन देखाउनु (एकै छिनमा दुःखी तथा एकै छिनमा सुखी देखिनु),
– आत्महत्या गर्न मिल्ने सामान बिनाकारण किन्नु,
– खानेबानी तथा सुत्ने बानीमा परिवर्तन ।
आत्महत्या रोक्ने उपाय
विश्व स्वास्थ्य सङ्गठनका अनुसार निम्नानुसार आत्महत्या रोक्न सकिन्छ :
– आत्महत्या गर्न सकिने सामानमा विशेष ध्यान पु-याउने,
– सामाजिक रूपमा आत्मविश्वासको जगेर्ना गर्ने,
– आत्महत्या गलत हो भनेर प्रचारप्रसार गर्ने,
– जनचेतना प्रवाह गर्ने,
– एकअर्काका समस्या सुन्नेलगायत ।
गोरखापत्र दैनिकबाट