काठमाडौं । फ्रान्सलाई सडन डेथमा पराजित गर्दै सह–आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबल२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । रोचक बनेको सडन डेथमा फ्रान्सलाई ७–६ को अन्तरले पराजित गर्दै सह–आयोजक अष्ट्रेलियाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
ब्रिसवन स्टेडियम ब्रिसवन अष्ट्रेलियामा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । टाइब्रेकरमा पनि नतिजा नआएपछि अष्ट्रेलियाले सडनडेथमा बाजी मारेको हो ।
अष्ट्रेलिया विश्वकपको इतिहासमा पहिलोपल्ट सेमफाइनलमा प्रवेश गरेको हो । त्यसअघि अष्ट्रेलिया क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन । अष्ट्रेलिया सन् २००७, २०११ र २०१५ मा क्वाटरफाइनलबाट बाहिरिदा २०१९ मा भने प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थियो । अब प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डले कोलम्बियाको सामना गर्दैछ । यसको विजेताले अन्तिम चारमा अस्ट्रेलियाको सामना गर्नेछ ।