दोलखा – गौरिशंकर गाउँपालिकाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
गौरिशंकर गाउँपालिकाको बेदिङ र नाँ गाउँमा मंगलबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा ४३ जनाले उपचार सेवा लिएका छन् । शिविरमा रुघाखोकी, ज्वरो, ब्लड प्रेसर, दम, मधुमेह, हाई अल्टिट्युड, लगायत रोगको परीक्षण र उपचार भएको छ। शिविरमा १८ जनाले भिडियो एक्स रे सुविधा लिएका छन् । शिविरमा २० हजार बरावरको औषधी निशुल्क वितरण गरिएको छ ।
गौरीशंकर गाउँपालिकाका स्वास्थ्य प्रमुख वसन्त रेग्मीले आगामी दिनहरुमा पनि यस्तै निशुल्क स्वास्थ्य शिविर गर्दै जाने बताउनुभयो । अस्पतालको पहुँच नभएका दुर्गम ठाउँका नागरिकहरुको स्वास्थ्य अवस्थाबारे बुझन् यस्ता स्वास्थ्य शिविरले सघाउ पुग्ने उनको भनाई छ । ‘बेदिङ र नाँ का स्थानीयलाई स्वास्थ्य उपचारका लागि २, ३ दिन हिँडेर सुरी, सिँगटी बजार तथा चरिकोट धाउनुपर्ने बाध्यता भएकाले बेलाबेलामा शिविर मार्फत स्वास्थ्य परिक्षण गर्दै आएका छौँ’ उनले भने ‘आगामी दिनमा अन्य वडामा समेत स्वास्थ्य शिविर सञ्चालन गर्छौँ ।’
गाउँपालिका अध्यक्ष विश्वास कार्कीले भौगोलिक अवस्था जटिल रहेका स्थानहरुमा गाउँपालिकाले नियमित स्वास्थ्य परिक्षण गर्ने बताए ।
गौरीशंकर गाउँपालिका ९ का अध्यक्ष निमागेली शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्की, विशेष अतिथि गौरीशंकर गाउँपालिका स्वास्थ्य प्रमुख वसन्त रेग्मी, विशेषज्ञ डाक्टर सन्तोष कुमार यादव, हेल्थ .अ धमेन्द्र जंग हमाल, पत्रकार बलराम खड्का, गोविन्द थामी लगायतको उपस्थिति रहेको थियो ।