दोलखाबाट बरामद भएको ११ किलो सुन प्रकरणमा प्रहरीले थप एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ। बुधबार दिउँसो केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले एक जनालाई पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका १५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी, दावा भन्ने आगर लामा छन्। उनलाई स्वयम्भूबाट पक्राउ गरिएको एसपी अधिकारीले बताए। यो सुन तस्करी गरेको घटनामा सुन अर्डर गर्नेदेखि ल्याउन लगाउने सम्मको भूमिका तासीले खेल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मंगलबार मात्रै सिआइबीको टोलीले काठमाडौंबाटै एक जना चिनियाँ नागरिकसहित ३ जनालाई पक्राउ गरेको थियो। त्यसअघि नै प्रहरीले दोलखाबाट ७ जनालाई पक्राउ गरेको थियो। यस प्रकरणमा अहिलेसम्म ११ जना पक्राउ परेका छन्।
चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङलाई मंगलबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो। उनीहरूमाथि थप अनुसन्धानका लागि दोलखा पठाइएको छ । गत असोज १० दोलखाको बिगु गाउँपालिका १का १९ वर्षीय पेम्बा तामाङ, २० वर्षीय माधव मगर, २८ को केशर तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ, ३२ वर्षीय चस्मान (छिरिङं) तामाङ र एक नाबालकलाई पक्राउ गरेको थियो। गत शुक्रबार (असोज १२) गते प्रहरीले तीन किलो सुन बरामद गरेको थियो। अनुसन्धानकै क्रममा थप चार किलो सुन आइतबार दोलखाबाटै बरामद भएको हो।