चारैतिर हरिया बनजंगल । वरिपरि सुन्दर घाँसे मैदान । प्रकृतिको काखमा टिलपिल गर्दै खेलीरहेको सिमपोखरी । दोलखाको भीमेश्वर नगरपालिका ६ मा अवस्थित यो पोखरी अहिले आन्तरिक तथा वाह्य पर्यटकको रोजाइ बनेको छ । एक पटक पुगे पछि उतै रहुँ रहुँ लाग्ने सदरमुकाम चरिकोट बाट १५ मिनेट उकालो चढ्दा केहीबेरमै स्वर्गमा पुगेको आभास हुन्छ । त्यहाँबाट केहि पाईला अघि सरे पछि वरिपरि अग्ला पहाडका टाकुरा, कतै भञ्ज्याङ जस्तै देखिने त कतै हिमालको चुचुरो जस्तै देखिने । यिनै पहाडका टाकुराको काखमा प्रकृतिले जन्माएको सिमपोखरीको सुन्दरता साँच्चै मनमोहक र लोभलाग्दो छ । यही पोखरीको बाटो हुँदै सयौँ पर्यटकले कालिन्चोक यात्रामा जाने गर्छन् । कालिञ्चोकको यात्रामा निस्केका जोकोहीले सिमपोखरीमा थकाई मारेर उकालो लाग्छन् । कालिन्चोक भगवती मन्दिर जानेहरुलाई पनि सिमपोखरीले केहीबेर रोक्छ । किनकी, यहाँको सुन्दरता नै त्यस्तो छ, जसले जो कोहीलाई एकैछिन भएपनि पोखरीको शान्त सामिप्यमा हराउने बनाउँछ । पोखरीको वरपर ठुलो खुल्ला घाँसेचौर छ । चौर नजिकै पुराना मनमोहक तीनतले घरले हरेकको मन लोभ्यायकै हुन्छ । एकपटक पुगुँपुगँ लाग्ने यो ठाउँलाई एकपटक नजिकबाट नियाँलौ ।