दोलखा । आज शुक्रबारको दिन । सदरमुकाम चरिकोटमा रहेको एपेक्स स्कुलका विद्यार्थी खाली हात विद्यालय पुगेका छन् । हरेक शुक्रबार सबै विद्यार्थीहरु साथमा किताबकापी नबोकी खाली हात नै विद्यालय पुग्छन् । शुक्रबार ‘बुक फ्रि डे’ हो । अर्थात् किताब रहित शुक्रबार ।
शुक्रबार विद्यार्थीले किताबका अक्षरहरु पढ्दैनन्, कापीमा कलमले लैख्दैनन् । शुक्रबार उनीहरु सिपमुलक काम गर्छन् । यो शुक्रबार विद्यार्थीले स्कूलमा गएर गुन्द्री बुन्न सिके । स्कूलले प्राङ्गणमै तान लगाएर स्थानीय प्रविधि प्रयोग गरी विद्यार्थीलाई गुन्द्री बनाउन सिकाएको हो।
किताब रहित शुक्रवारमा सिकाइएको कार्यले पाठ्यक्रमको गणित, विज्ञान, सामाजिक, अङ्ग्रेजी र नेपाली विषयको विभिन्न पाठहरु समेटेको छ। यो कार्य गर्दा बालविकासको लागि हात र आँखाको पनि पर्याप्त मात्रामा प्रयोग हुने गर्दछ।
विशेषगरी गुन्द्री बुन्ने तानमा प्रयोग हुने विधि बाइनरी नम्बरहरको श्रृङ्खला सँग मिल्छ । कम्प्युटरमा बाइनरी नम्बर ० र १ लाई मानिन्छ । आधुनिक युगको कम्प्युटर विकास हुनुमा पौराणिक तानको ठूलो योगदान रहेको छ। यस कार्य गरिरहँदा सँयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यहरुलाई पनि मध्य नजर गरिएको छ। (SDG’s 4/8/9/12) हरु यस कार्यक्रमले समेटेको छ।
आज बनाइएको गुन्द्रीहरु भोली शनिबारको हाटबजारमा बिक्री गरिनेछ । भोली हाटबजारमा जानेहरुले उक्त गुन्द्री खरिद गरि विद्यार्थीहरुलाई हौसला प्रदान गरिदिन विद्यालयको अनुरोध छ । गुन्द्री बुन्ने कार्यका लागि टिमका सदस्यहरु यशोधा सुवेदी, गोमा बुढाथोकी, मीरा श्रेष्ठ र संगीता श्रेष्ठले सहजीकरण गरेका थिए । यसरी नै हरेक शुक्रबार फरक फरक सिपमूलक सिकाई विद्यार्थीले गर्नेछन् ।