राजकुमार भुजेल ,दोलखा । नेकपा एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ दोलखा आइपुग्ने भएको छ । वैतडीको झुलाघाट देखि चिवाभञ्ज्याङ सम्म समृद्धिका लागि सङ्कल्प यात्रामा निस्किएका नेकपा अध्यक्ष केपी शर्मा ओली सहितको टोली भोली सोमबार दोलखा आइपुग्ने भएको हो ।
सङ्कल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले दोलखाले सोमबार दिउँसो १ बजे दोलखाको सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा जनसभाको तयारी गरेको छ । उक्त जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले जानकारी दिए । स्वागतका क्रममा संस्कृति झल्कने झाँकी प्रदर्शन गर्दै सातदोबाटो पुग्ने कार्यक्रम तय भएको उनले बताए । त्यसपछि मेलुङ सितलीमा किसानहरुसँग भेटघाट गरि यात्रा रामेछापतर्फ अघि बढ्ने बताइएको छ ।