राजकुमार भुजेल , दोलखा। नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता कमजोर हुदैँ गएको आरोप लगाएका छन् । ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा सोमबार दोलखा आइपुगेका ओलीले आफु सरकारमा रहिरहँदा गठबन्धन नामका पार्टी मिलेर सरकारबाट हटाएपछि राष्ट्रियता कमजोर हुदैँ गएको बताएका हुन् ।
सदरमुकाम चरिकोटमा जनसभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले गर्दा ४ महिनामा देश गरिब बन्न पुगेको आरोप लगाए । उनले आफुलाई सरकारबाट हटाएपछि अहिलेको गठबन्धन नामको सरकारले देश बनाउन नसकेपछि कर्मचारीलाई तलब समेत ऋण काढेर दिनुपर्ने बाध्यता बनेको टिप्पणी गरे । ‘अहिलेको सरकार ओरालो लागेको सरकार हो आफैँ ढल्छ कसैले ढाल्नै पर्दैन’- उनले भने । एमाले पार्टी लोकप्रिय पार्टी तथा राष्ट्रिय पार्टी भएकाले सरकारमा जान हतार नगरेको उनले बताए । देशलाई केहि लिन दिन, सार्वभौम सत्ता कमजोर हुन दिन, स्वतन्त्रताको अवमुल्यान हुन दिन त्यसको कार्यान्वयन का लागि विपक्ष दलसँग सम्झौता गर्न नसक्ने उनले दावी गरे ।
अध्यक्ष ओलीले एमाले सरकारमा हुँदा विदेशीको सहायता र साँठगाँठ नगरी जनताको लोकप्रिय अभिमतले सरकार बनाएको जिकिर गरे । उनले यस यात्राका क्रममा जनताका गुनासाहरुलाई माथिल्लो स्तरमा राखेर उनीहरुको हकहितका बारेमा सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।