राजकुमार भुजेल ,दोलखा। ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ भिमेश्वर नगरपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। मङ्गलबार सदरमुकाम चरिकोट स्थित रङ्गशालामा प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका उद्योग वाणिज्य तथा भूमिसुधार मन्त्री रामकृष्ण चित्रकारले गरेका थिए। सो अवसरमा उनले खेलकुदले बालबालिकाको समग्र विकास र वृद्धिमा सहयोग पुग्ने बताउँदै विद्यार्थीले जीवनमा लक्ष्य प्राप्तिका लागि आवश्यक शारीरिक र मानसिक क्षमता वृद्धि गर्नत टेवा पुग्ने उल्लेख गरे ।
भिमेश्वर नगरपालिका नगर प्रमुख ईश्वर नारायण मानन्धले खेलकुद क्षेत्रको विकास र प्रवर्द्धन गर्नुका साथै विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताए ।
प्रतियोगितामा नगरपालिका भित्रका १८ विद्यालय सहभागी छन्। खेल शुक्रबार सम्म चल्नेछ। प्रतियोगितामा सहभागि हुन आएका विद्यार्थीहरु र्याली सहित सदरमुकाम चरिकोट बजार परिक्रमा गरि रङ्गशाला पुगेका थिए ।
भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकर, भीमेश्वर नगरपालिका उपाध्यक्ष कमला बस्नेत लगायतले मन्तव्य तथा शुभकामना व्यक्त गरेका थिए भने विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी, शिक्षक, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो।