दोलखा । दोलखाका एक युवाले पाइलट अध्ययनका लागि १ रुपैयाँ अभियान सुरु गरेका छन् । वैतेश्वर गाउँपालिका २ का दिपेन्द्र घिसिङ तामाङले आफुले इच्छाएको विषय पढ्नको लागि आर्थिक अभाव भएपछि एक रुपैयाँ अभियान मार्फत पढाइखर्च उठाउन लागेका हुन् ।
बुबा आमा दुवैले पुनः अर्को विहे गरेर छुट्टिएपछि उनी ६ वर्ष देखि एक्लै बस्दै आएका छन् । स्कुल तथा कलेजमा पढाएर गुजरा चलाउँदै आएका उनले सुरुवाती दिनमा होटलमा समेत काम गरेका थिए ।
सानैदेखि पढाइमा निकै मेहेनती र अब्बल रहेका उनको पाइलट पढ्ने लक्ष्य थियो । तर पारिवारिक अबस्था विथोलिएपछि आर्थिक अभावले उनलाई रोक्यो । पाइलट पढ्नसरकारी स्तरबाट कुनै सहयोग मिल्छ कि भनेर सरकारका तीनवटै तह गुहारे । तर कतैबाट पनि उनलाई छात्रवृति तथा अनुदान मिलेन । उनले चिनेजानेका नेता, बुद्धिजीवी, समाजसेवी सबैलाई भेटेर आफ्नो पाइलट पढ्ने इच्छाबारे सुनाए । तर कसैले पनि उनलाई सहयोग नगरेपछि उनी हच्किए । तर निरास भने भएनन् । पैसा नभएकै कारण आफुले पाइलट पढ्नबाट बञ्चित भएपछि उनले हरेक सहयोगी ब्यक्तिबाट ११ रुपैयाँ उठाएर आफुले पाइलट पढ्ने योजना बनाएका हुन् ।
उनी भन्छन्, सफल हुनको लागि सपना देख्न सक्नुपर्छ र त्यसमा निरन्तर सक्रियताको साथ काम गर्न सक्नुपर्छ । कुनै मान्छे सफल र असफल हुनुमा आर्थिक अबस्था र पैसाले अर्थ राख्नु हुँदैन।
उनी लक्ष्य हासिल गर्न पैसा नै सबैथोक होइन भनेर प्रमाणित गर्न चाहन्छन् । गरिब तथा दुर्गम क्षेत्रमा रहेका विद्यार्थीले उच्च शिक्षा सम्म पुग्न सक्दैन भन्ने भ्रम चिर्न भएपनि उनी पाइलट बन्न चाहन्छन् । सपना देखे, मेहेनत गरे सफल भईन्छ भन्ने उदाहरण दिन चाहन्छन् ।
१ रुपैयाँ अभियान सञ्चालन गरेको ३ महिनामा उनले ८१ लाख मध्ये ५६ लाख रुपैयाँ उठाउन सफल भइसकेका छन्।
उनको यो अभियान देखेर समाजका अन्य ब्यक्तिहरु अचम्मित मात्रै भएका छैनन् सबैमा एकताको भाव समेत उत्पन्न गराएको छ। अभियानकै कारण पार्टीगत रुपमा टाढिएका आफन्त पनि नजिक भएको, नचिनेका व्यक्ति पनि जोडिएको उनी बताउँछन् । अभियान सफल भएपछि यसले आफुमा थप जिम्मेवारी बोध गराएको उनी बताउँछन्।