राजकुमार भुजेल , दोलखा। उद्योग वाणिज्य संघ दोलखाको आयोजनामा सदरमुकाम चरिकोट स्थित रङ्गशालामा संचालन भइरहको बृहत दोलखा महोत्सवको समय थप गरिएको छ । पुष १३ देखि २२ गते सम्म संचालित महोत्सव थप २ दिनका लागि लम्बिएको हो।
दोलखा महोत्सवको दिव्य दृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि भन्ने मूल नाराका साथ स्थानीय कला, संस्कृति तथा व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले संचालित महोत्सवमा अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएकोले समय थप गर्दै पुष २४ गते सम्म संचालन गर्न लागिएको उद्योग वाणिज्य संघ दोलखाका महासचिव सुरेश उप्रेतीले जानकारी दिए । महोत्सवमा १ सय ५० ओटा स्टलहरू राखिएका छन्। त्यसभित्र महिन्द्रा ट्रिओ, बालउद्यान, खानाका परिकार, कृषिजन्य वस्तु, हस्तकला, घरेलु उद्योग, स्थानीय कला तथा संस्कृति तथा मनोरञ्जनका सामग्री राखिएका छन् । महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति समेत भइरहेको छ।