राजकुमार भुजेल ,दोलखा। वैतेश्वर गाउँपालिकाको चौधौँ गाउँसभाको हिउँदे अधिवेशन शनिबार देखि सुरु भएको छ । पालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा उद्घाटन गरिएको चौधौँ गाउँसभाले पुँजीगत तर्फका विभिन्न कार्यक्रम तथा बजेटलाई संशोधन गरेको छ।
गाउँसभामा उपाध्यक्ष कल्पना उप्रेतीले करिब ४ करोड २५ लाख बराबरको संशोधित बजेट तथा कार्यक्रमलाई सभामा पेस गरेकी थिइन् । सभाले पुँजीगत तर्फ विभिन्न शिर्षकहरु शिक्षा, स्वास्थ्य, कृषि, सडक, भवन, गोरेटो बाटो, रोजगार, धार्मिक तथा पर्यटकीय क्षेत्र, खानेपानी, संचार लगायतका क्षेत्रमा संशोधित बजेट विनियोजन गरेको छ । गाउँसभाले सभामा पेस गरिएको आर्थिक विधेकलाई समेत पारित गरेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए ।
संशोधित बजेट तथा कार्यक्रम पेश गर्दै उपाध्यक्ष कल्पना उप्रेतीले सबै वडालाई समान हिसाबले कार्यक्रम वितरण गरिएको बताइन् ।
गाउँसभामा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडापालिका सदस्य, कर्मचारी, स्थानीय लगायतको उपस्थिति रहेको थियो । चालु आर्थिक वर्ष २०८०/८१ मा वैतेश्वर गाउँपालिकाले करिब ५० करोडको हाराहारीमा बजेट ल्याएको थियो।