पवटी, १७ माघ । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी स्थित रमाइलो चोकमा रहेको हाम्रो सूर्योदय साकोसमा सोमबार राती अचम्मकै चोरी काण्ड भयो । अचम्म पनि यतिसम्म की एक जना सामान्य लुम्रेझुम्रे जस्ता देखिने व्यक्ति (उपलब्ध सिसिटिभी फुटेजमा देखिए अनुसार) ले करिव आधा घण्टाको अवधीमा सहकारीको मूख्य गेटदेखि सेफ अर्थात भल्ट राखेको कोठाको ढोकासम्म पाँच/पाँच ओटा ताला फोरेर सहकारीको ३२ लाख ८७ हजार रकम लिएर फरार भए । चोरीको घटना सोमबार राती करिव ११ बजेको समयमा भए पनि उक्त समाचार जिल्लामा छाउन मङ्गलबार दिनभरजसो नै लाग्यो । छानविनका लागि प्रहरी टोली पनि मङ्गलबार अपरान्ह मात्रै घटनास्थल पुग्यो ।
छानविन के हुँदैछ?
घटना घटेको तीन दिन बितिसक्दा पनि प्रहरीले घटनाका सम्बन्धमा खास सफलता हासिल गरेको देखिँदैन । उल्टै घटनाका सम्बन्धमा सोधपुछका लागि नियन्त्रणमा लिएको सहकारीका व्यवस्थापक महेन्द्र भूजेल र घरधनी कपिलमणी न्यौपानेलाई बुधबार हिरासतमुक्त गरेको छ । बुधबार प्रहरी कार्यालयमा पुगेका सहकारीका अध्यक्ष छत्रराज उप्रेती सहितका सञ्चालक र अन्य केही व्यक्तिहरुको रहोबरमा बिहिबार फेरी हाजिर हुनेगरी छाडिएको प्रहरीले जनाएको छ । अहिलेसम्म सहकारीका तर्फबाट घटनाका सम्बन्धमा कुनै पनि आधिकारिक उजुरी भने नपरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक धर्मेशकुमार यादवले सम्बन्धित सबैलाई सघन निगरानीमै राखेर छानविन अघि बढाइएको जानकारी दिए ।
कतै राजनीतिक दवाव त होइन?
यसबीचमा हाम्रो सूर्योदय साकोसको चोरी काण्डमा प्रहरीले गरिरहेको अनुसन्धानमा राजनीतिक प्रभाव हावी हुने हो की भन्ने आशङ्का स्थानीय र शेयर सदस्यहरुले गरिरहेकै बेला प्रहरीले भने नियन्त्रणमा लिइएका सहकारीका व्यवस्थापक र घरधनीलाई रिहा गरेको छ । पक्राउ परेका घरधनी न्यौपाने उक्त सहकारीका पूर्व कोषाध्यक्ष हुन् । सहकारीको हालको नेतृत्व पनि निकै रस्साकस्सीका साथ चयन गरिएको हो । स्रोतका अनुसार हालको नेतृत्व र पूर्व कोषाध्यक्ष न्यौपानेबीचको सम्बन्ध पनि त्यति न्यानो छैन । केही पुराना सञ्चालक लगायतका व्यक्तिहरु वर्तमान नेतृत्वलाई असफल तुल्याउन हातै धोएर लागि परेको लख काट्नेहरु पनि धेरै छन् । यद्यपी आवद्ध राजनीतिक दल एउटै रहेका कारण आफ्ना नेता जोगाउन केही राजनीतिक दलका ठूलै नेताको दवाव प्रहरीले भोगेको आशङ्का पनि गरिएको छ । सूर्योदय साकोसका अधिकांश सञ्चालकहरु नेकपा एमालेको गाउँ तथा जिल्लाको नेतृत्व पङ्तीमा पुगिसकेका व्यक्तिहरु छन् । पूर्व सञ्चालक एवं घरधनी न्यौपानेलाई पनि एमालेका तर्फबाट आगामी निर्वाचनमा कम्तिमा वडाअध्यक्षको उम्मेद्वारका रुपमा चित्रित गरिँदै आएको छ । यस परिपे्रक्षमा जिल्लामै सहकारी क्षेत्रमा हालीमुहाली गरिरहेको एमाले नेतृत्व सूर्योदय साकोसको यो काण्डलाई यत्तिकै थामथुम पार्ने कसरतमा त लागेको छैन, शङ्काको विषय बनेको छ ।
घटना किन शङ्कास्पद र रहस्यमयी छ?
प्रथमतः कुनै पनि सहकारीमा त्यति धेरै रकम एकै पटक भल्ट (सेफ) मा राख्न पाँइदैन । राख्नुपरे पनि किन राख्ने हो, कारण सहित सञ्चालकको निर्णय सहित बिमा गरेर राख्नु पर्दछ । स्मरण रहोस् कि जिल्लाका ठूला भनिएका जनसचेतन, मिलिजुली कालिञ्चोक, एकीकृत फ्रेण्डसिप लगायतका सहकारीहरुले पनि त्यति धेरै रकम एकै पटक भल्टमा राखेका हुँदैनन् । जनसचेतन साकोसका सेवाकेन्द्रहरुमा अधिकतम दश लाख रुपैयाँसम्मको लिमिटेशन तोकिएको हुन्छ, त्यो पनि बिमा सहितको । त्यो भन्दा बढी रकम कुनै पनि अवस्थामा सेवाकेन्द्रमा नराखी बैङ्कमै राख्नुपर्ने प्रावधान रहेको छ । तर सूर्याेदय साकोसमा यति धेरै रकम भल्टमा राख्दा न त नीतिगत निर्णय छ न त बिमा नै । त्यसमाथि सहकारीका व्यवस्थापकले भल्टको चाबी कार्यालयमै राखेर जानु, चोर्ने व्यक्तिले सँगैको कोठामा सुतिरहेका घरबेटीले समेत थाहा नपाउनेगरी पाँच/पाँच ओटा ताला फोरेर छोटो समयमै लाखौँ रकम लैजान सफल हुनु जस्ता कुराले घटना शङ्कास्पद देखिएको छ । कार्यालय वरपरका व्यक्ति र सहकारीका सञ्चालक स्वयंलाई पनि करिव आधा घण्टाको त्यति छोटो समयमा एक जना मात्रै व्यक्तिले त्यत्रो कारनामा गरे भन्ने विश्वास छैन । त्यसमाथि टाढाको चोर भए सँगै सोही घरमा भएको सत्यश्वर बहुउदेश्यीय साकोसको ताला किन फोडेन? रहस्यकै विषय छ । यसमा कसको मिलोमतो छ, त्यो प्रहरी अनुसन्धान पछि अवश्य पनि खुल्ने नै छ ।