दोलखा । दोलखाका जुझारु युवा नेता हुन्, श्यामसुन्दर शिवाकोटी । हाल नेपाल कम्युनिष्ट पार्टी एमालेको जिल्ला कमिटी सदस्य रहेका शिवाकोटी जिल्लामा निकै लोकप्रिय छन् । त्यसो त, पार्टी राजनीति भन्दा पर उनको सामाजिक र आर्थिक जीवन पनि त्यति नै प्रेरणादायी छ । कुनै समय दोलखा उद्योग ब्यवसाय संघको संस्थापक सचिवका रुपमा रहेका उनी एक युवा व्यवसायी र समाजसेवी समेत हुन् । युवा पुस्तामाझ उद्यम तथा व्यावसायको अनुकरणीय उदाहरण बनेका उनी निकै बहुआयामिक व्यक्तित्व हुन् । कालिन्चोक गाउँपालिकाको वडा न. ३ मा जन्मेका शिवाकोटी आफैँमा कोमल हृदयका व्यक्ति हुन् । उनले जिल्लाका धेरै क्षेत्रका सामाजिक कार्यमा योगदान दिएका छन् । कसैको पनि दुख देख्न नसक्ने उनको प्रायजसो हरेक सामाजिक कार्यमा उनको उपस्तिथि रहँदै आएको छ ।
विशेषत राजनीतिलाई पूर्ण राजनीतिक दृष्टिबाट मात्रै ब्याख्या नगरी समाज विकास र परिवर्तनको दृष्टिसँग उनी तुलना गर्छन् । उनको राजनितिक इतिहास निकै नै लामो छ । वि.सं २०६३ सालमा कालिन्चोक गाउँपालिका वडा न. ४ लामीडाडामा रहेको हिलेपानी साँस्कृतिक माध्यमिक विद्यालयबाट उनी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुमा संगठित भएका थिए । विद्यार्थी राजनीतिबाट उदाएका उनले स्कूले जीवनमा पनि अन्याय, अत्याचार र समाजका विविध विकृति विरुद्ध खुलेर आवाज उठाउने गर्थे । पछि २०६५ मा काठमाडौँ आएपछि उनले कोटेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्रारम्भिक सदस्यता लिएका थिए । २०६७ मा सोही क्याम्पसको सचिव हुँदै २०६९ मा क्याम्पस कमिटी अध्यक्ष भएका थिए । २०७१ सालमा अनेरास्ववियु राष्ट्रिय परिषद् हुँदै उनी अनेरास्ववियु केन्द्रिय सदस्य भएका थिए । अहिले उनी नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी पदमा निवाचित भैसकेका छन् । उनले गएको स्थानीय, प्रदेश तथा संघीय निवाचनमा जिल्लामा निकै सक्रियतापूर्वक भूमिका निर्वाह गरेका थिए । उनी पार्टी र संगठनलाई असल मार्गमा हिडाउन निरन्तर क्रियाशिल छन् । वाग्मती प्रदेश युवा परिषद सदस्य भएर दोलखा मा निकै सामाजिक कामहरु गरेका छन् ।
त्यसो त यतिबेला मुलुकभर नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी भइरहेको छ । दोलखामा भने माघ २२ देखि २५ गतेसम्म जिल्ला अधिवेशन हुँदैछ । जसका लागि जिल्ला भित्र अधिवेशन केन्द्रित भएर पार्टीभित्र सक्रियता बढिरहेको छ । यद्यपी अधिवेशनका लागि भनेर शिवाकोटीले अहिलेसम्म उम्मेदवारी भने घोषणा गरेका छैनन् । जिल्लामा लोकप्रिय युवा नेताको छवी बनाएका उनको युवा पङ्तीमा राम्रो प्रभाव देखिन्छ । उनी जिल्लामै रहेर पार्टीको काममा निरन्तर खट्ने एक कुशल नेताको रुपमा चिनिन्छन् । राजनीतिक रुपमा निकै योगदान गरेका उनी जिल्लामा एमालेका आशालाग्दा नेता हुन् ।
अध्यक्ष पदका लागि हालका अध्यक्ष नरबहादुर श्रेष्ठ, पुर्वअध्यक्ष इश्वरचन्द्र पोखरेल र भरत दुलालको दावेदारी रहेको छ ।
यसै सन्दर्भमा श्यामसुन्दर शिवाकोटी हाल सम्म कुनै उम्मेद्बारको लागि खुलेर नलागी मौन देखिन्छन् । उनी कसको पक्षमा खुलेर लाग्छन् त्यो पर्खाइको विषय बनेको छ ।