दोलखा। स्तन क्यान्सरबाट पिडित बन्दै गएकी दोलखाको भिमेश्वर नगरपालिकाकी एक महिलालाई आर्थिक सहयोग प्राप्त भएको छ । विगत २ वर्ष देखि स्तन क्यान्सरको उपचार गराईरहेकी भिमेश्वर नगरपालिका वडा नं ७ मकैबारीकी मनकुमारी मुङग्रातीलाई आर्थिक सहयोग गरेको हो।
बिहिबार सोहि वडा निवासि उखुबारीका सामाजिक अभियन्ता निरज बस्नेतको पहलमा ७१ हजार नगद आर्थिक सहयोग गरेको हो।
मुङग्रातीका परिवारले उपचार खर्च जुटाउन नसकेपछि स्थानिय सरकार तथा सहयोगीदाताहरुसँग सहयोगको अपिल गर्दै आएका थिए।सामाजिक अभियन्ता बस्नेतको पहलमा विगत दुई महिनादेखि सुरु गरेको “मनकुमारी बचाउन अभियान” बाट जुटेको रकम बिहिबार पिडित मुङग्रातीको निवासमै पुगि हस्तान्तरण गरेका हो।
मनकुमारीले अहिले टिचिङ अस्पतालमा उपचार गर्दै आएकी छिन्।“अहिले हरेक एक/एक महिनामा दुई वटा किमो लिनुपर्छ तर आर्थिक समस्याका कारण किमो चलाउन मलाई मुस्किल भएको छ” मनकुमारीले भनिन् । अहिले अस्पतालमा उपचारका लागि आर्थिक खर्च धान्नै नसकेको दुखेसो उनका श्रीमान उद्धवले पोखे ।
“श्रीमती को उपचारका लागि सहयोगको याचना गरेर केहि मात्रामा उपचार खर्च जुटेको छ उनले भने।” सबैबाट धेरथोर रकम भएपनि सङ्कलन भइरहेको छ तरपनि उपचारका लागि चाहिने रकम नहुँदा औषधि गर्न समेत नसक्ने अवस्थाका आफु पुगेको श्रिमानको गुनासो छ । यता सामाजिक अभियन्ता बस्नेतले उपचार नपाएरै मर्नु पर्ने अवस्था आएको थाहा पाए पछि आफुले सकेको सहयोग गरेको बताए।
श्रीमतीको उपचारका लागि लाखौँ खर्च भएपछि अहिले मुङग्रातीको परिवारको चुलोमा आगो बल्न समेत सकस भएको छ। आर्थिक अवस्था नाजुक बन्दै गएपछि सानो परिवार नै अन्धकार जस्तै भएको छ। आफ्नो श्रीमतीको उपचारका लागि सकेको सहयोग गर्न समेत सबैमा अपिल गरेका छन्।