दोलखा । विगु गाउँपालिका २ स्थित ओराङमा अचार बनाउने तालिम सुरु भएको छ । जलस्रोत, पर्यटन र जडिबुटीले समुन्नत विगु गाउँपालिका भन्ने मुल नाराका साथ मंगलबारदेखि ४ दिने मासुको अचार बनाउने तालिम सुरु भएको हो ।
युवा उद्यमी साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिकाले उक्त तालिम संचालन गरेको हो । १८ देखि ३५ उमेर समुहका महिला तथा पुरुषलाई लक्षित गरिएको तालिममा १९ जना महिला र ११ जना पुरुष गरी ३० जनाको सहभागिता रहेको छ । तालिममा खसी, कुखुरा तथा राँगाको मासुको अचार बनाउन सिकाइँदै छ ।
तालिमको उद्घाटनका क्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितबहादुर श्रेष्ठले गाउँका महिला तथा पुरुषलाई सक्षम बनाउने उद्देश्यले तालिम सुरु गरिएको र तालिम सम्पन्न भएपश्चात् व्यावसायिक रूपमा अचार उत्पादन गरी दोलखाका होटल तथा रेस्टुरेन्टमा बिक्री गरिने जानकारी दिए ।
विगु गाउँपालिका २ का अध्यक्ष दिपक ठकुरीले आफ्नो वडाभित्र महिला तथा पुरुषको पेसा र व्यवसायलाई टिकाउन र उत्पादनको लेवलिङ तथा प्याकेजिङका लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाए ।तालिम शुक्रबारसम्म चल्नेछ ।