काठमाडौं। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरूले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका छन् ।मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा निर्वाचनबारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाड्न नहुने मत राखेका हुन् ।
राष्ट्रिय सभा अध्यक्ष नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेको छ । तर, माओवादी स्थायी कमिटीका नेताहरूले भने सो पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
त्यसैगरी बैठकमा पार्टी नेताहरूको कार्य विभाजन, भावी योजनालगायत विषयमा पनि छलफल गरिएको छ । प्रवक्ता सापकोटाका अनुसार बैठकमा कांग्रेस महासमिति बैठक प्रस्तुत गठबन्धनसम्बन्धी धारणाका बारेमा पनि नेताहरूले प्रतिक्रिया दिएका थिए ।
‘हामीले प्रस्तुत सबै एजेन्डाहरूको बारेमा वृहत् छलफल गर्यौँ । तर, फेरि त्यो निष्कर्षमा पुगिसकेको छैन । निर्णय भइसकेको छैन । छलफलको विषय तिनै हुन्, जो मैले पहिले नै प्रस्तुत गरिसकेको छु । सबभन्दा मुख्य चाहिँ कार्य विभाजनको विषय थियो । पार्टी अभियान सञ्चालन र त्यस्तै गरेर आगामी योजनाका बारेमा आज वर्तमान राष्ट्रिय परिस्थितिबारे पनि अलि बढि छलफल भयो । यसमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो । र, त्यससम्बन्धमा अन्तिम निर्णय चाहिँ भोलि हुन्छ । अधिकांशले चाहिँ राष्ट्रिय सभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ । हालै सम्पन्न नेपाली कांग्रेस महासमिति बैठकमा चलेको चर्चाहरूको बारेमा पनि छलफल भयो ।’
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार पनि बोलाइएको छ ।