दोलखा । दोलखाको जिरी नगरपालिकामा आर्थिक अनियमितता र भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। विकास आयोजनाका नाममा बजेट छुट्याएर कामै नगरी रकम हिनामिना गरेको आरोप लगाउँदै नगरप्रमुख, उपप्रमुख, लेखा अधिकृत र इन्जिनियर सहित ६ जनाविरुद्ध आर्थिक अनियमितता र भ्रष्टाचार अभियोगमा उजुरी दर्ता गरिएको हो ।
उजुरीपत्रमा जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेल, उप प्रमुख कृष्णमाया बुढाथोकी, पुर्व प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्य, पुर्व लेखा अधिकृत महेश्वर अधिकारी, पुर्व इन्जिनियर ध्रुव ज्ञवाली र २ जना प्राविधिक लाई समेत विपक्षी बनाइएको छ ।
नगरपालिका भित्र विभिन्न योजनाहरु देखाई फिल्डमा कुनै काम नगरि ३२ लाख ९६ हजार रुपैयाँ रकम भ्रष्टाचार गरिएको उजुरीमा उल्लेख छ । नगरबाट तोक लगाइएका आयोजनामा डिपिआर गरि सम्पूर्ण रकम भुक्तानी गरिएको देखिएकोले आर्थिक अनियमितता र भष्ट्राचार भएको भन्दै अनुसन्धान गरेर कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ।