दोलखा । जिल्लामा गत हप्तादेखि सुरु गरेको विद्यार्थीहरुलाई ट्राफिक सचेतना अभियानमा आज एकैदिन ३ सय विद्यार्थीलाई प्रशिक्षण दिइएको छ। जिल्लाको तामाकोशी गाउँपालिका – ४ मालुमा रहेको गोल्मेश्वर माध्यामिक विद्यालयका ३ सय जना विद्यार्थीहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराईएको हो ।
जिल्ला ट्राफिक कार्यालय दोलखाका इन्चार्ज प्रहरी सहायक निरीक्षक ठाकुर प्रसाद भट्टराईले गत हप्ताबाट जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय दोलखाको सयुक्त आयोजनामा सोहि पालिकाको विद्यार्थीहरुलाई आ-आफ्नै विद्यालयमा पुगेर ट्राफिक नियम सम्बन्धि सचेतना मुलक अभियान सुरु गरेको थियो । विद्यार्थीहरुलाई ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका दुर्घटना हुने गरेको बताउँदै ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सचेतना कार्यक्रमको अभियान थालनी गरेको इन्चार्ज प्रहरी सहायक निरीक्षक भट्टराईको बताए।
“विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै ट्राफिक कार्यालय दोलखाका इन्चार्ज प्रहरी सहायक निरीक्षक ठाकुर प्रसाद भट्टराई”
सो अभियानमा शुक्रबार विद्यार्थीहरुलाई सवारी साधन चलाउँदा आवश्यक कागजात सधैं साथमा लिएर हिँड्नु पर्ने, सधै ट्राफिक नियमको पालना गर्नुपर्ने, हतार गरी सवारी साधन कहिल्यै नचलाउने र हतारमा सडक पार नगर्ने जस्ता महत्वपूर्ण जानकारी गराएका थिए। बिच सडकमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुराउने, मोटरसाईकल चालकले अनिवार्य रूपमा कान छोपिने हेल्मेट प्रयोग गरी फिता समेत बाँध्ने जस्ता कुराहरु विद्यार्थीहरुलाई सिकाएको र उनिहरुलाई यो सन्देश सबै ठाउँमा फैलाउन इन्चार्ज भट्टराईले विद्यार्थीहरुलाई आग्रह गरे । त्यस्तै गत हप्ता वडा नं ३ जफे स्थित सितापाइला माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो।
इन्चार्ज प्रहरी सहायक निरीक्षक ठाकुर प्रसाद भट्टराईका अनुसार जिल्लाको नौ वटै स्थानिय तहका माध्यमिक विद्यालयहरुमा सो अभियान तिब्र रुपले चलाइने छ।