दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको एपेक्स स्कूलले विद्यार्थीलाई मोबाइल एप मार्फत पठनपाठन गराउने भएको छ । अध्यापन कार्यलाई थप सहज र प्रविधिमैत्री बनाउँदै विद्यालयले मोबाइल एप्लिकेसन मार्फत पढाउन लागेको हो ।
शनिबार आयोजित कार्यक्रममा ‘स्मार्टर’ नामक एप सार्वजनिक गर्दै भिमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले प्रविधिको प्रयोगले विद्यार्थीको अध्ययनमा थप सहजता प्रदान गर्ने अपेक्षा ब्यक्त गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल नसिव कायस्थले हरेक कक्षा कोठामा स्मार्ट टेलिभिजन राखेर अडियो भिजुअलको माध्यमबाट पठनपाठन हुने भएकोले यसबाट विद्यार्थीहरुलाई शिक्षण सिकाइमा थप सहजता हुने विश्वास ब्यक्त गर्नुभयो । हाल एप्लिकेशनमार्फत गणित, विज्ञान र सामाजिक विषयको मात्रै पढाई हुने बताउँदै उहाँले केही समयमा बाँकी विषयलाई पनि एप्लिकेशनमा समावेश गर्ने जानकारी दिनुभयो ।
एप्लिकेशन निकै रमाइलो र सहज भएकाले विद्यार्थीले सजिलोसँग रमाइलो तरिकाले पाठयक्रम बुझ्ने ‘स्मार्टर’का निर्देशक जित राघवले बताउनुभयो । विद्यालयले एप्लिकेशन मार्फत अध्यापन गर्नका लागि सम्पूर्ण शिक्षकलाई तालिम समेत दिइसकेको ‘स्मार्टर’की सञ्चालिका रिना बज्राचार्यले जानकारी दिनुभयो ।