राजकुमार भुजेल दोलखा । भीमेश्वर नगरपालिकाले नगर तथा वडा भित्र निर्माण भइरहेका योजनाको अनुगमन गरेको छ । नेपाल सहरी शासकीय तथा पूर्वाधारको बजेटबाट भीमेश्वर नगरपालिका ४ मा निर्माण भएका संरचनाको अनुगमन गरिएको हो ।
नेपाल सहरी शासकीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत कार्यान्वयनमा रहेका योजनाहरुलाई ५० लाख विनियोजन भएको थियो । जस अनुरुप नगरपालिकाको वडा नम्बर ४ स्थित फसिभै कोलेचौर, टहले पाखाघर, सापकोटा नागस्थान, देउराली नयाँबारी, पिप्ले कोले बाँचिलामा गोरेटो बाटो, जाली सहितको वाल, सिलिङ, सिंचाई कुलो लगायतका निर्माण भएको थियो ।
सम्पन्न सो आयोजनाको अनुगमन र निरिक्षणका लागि प्राविधिक नगरस्तरीय अनुगमन समिति ,मिडिया सहितको टोली, उपभोक्ता समितीका पदाधिकारी सहितको सयुक्त उपस्थितीमा आयोजनास्थल पुगेको थियो । त्यसो त उही आयोजनाको अनुगमनका लागि पहिलोपटक यसरी पत्रकार सहितको अनुगमन टोली पुगको हो ।
योजनाको आवश्यकता, प्रभावकारिता र गुणस्तरीयताका बारेमा टिप्पणी तथा सुझाब दिन नगरपालिकाले स्थानीय जनतालाई आआफ्नो क्षेत्रमा सम्पन्न भएको योजना स्थलमा उपस्थित हुन आग्रह गरेको थियो।