ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा बिहीबार राति आएको पहिरोमा परी एकै परिवारका चार जनाको ज्यान गएको छ । करिब २०० मिटर माथिबाट खसेको पहिरोले घर बगाउँदा गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बूका बुबा रामबहादुर साम्रा, आमा जसमाया लिवाङ र बहिनीहरू गंगा र जमुनाको मृत्यु भएको हो ।
बिहीबार राति १ः३० बजेतिर उनीहरू सुतिरहेको समयमा पहिरो गएको वडाध्यक्ष भूपेन्द्र चौलागाईंले जानकारी दिए । उपाध्यक्ष लिम्बू भने गाउँमै रहेको अर्को घरमा बस्दै आएका थिए । खेजेनिमकै गढिडाँडामा पहिरोले स्थानीय युगेन साम्राको घर पुर्दा उनी र उनी छोरी घाइते भएका छन् । दुवैलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको वडाध्यक्ष चौलागाईंले जानकारी दिएका छन् ।